फोर आइज न्युज
शनिबार, जेष्ठ १८, २०८२
  • होमपेज
  • पोखरा विमानस्थलको भ्रष्टाचार अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

पोखरा विमानस्थलको भ्रष्टाचार अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

  • Arjun Rai
  • बिहिबार, जेष्ठ ९, २०८२
पोखरा विमानस्थलको भ्रष्टाचार अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

Highlights

  • विमानस्थल निर्माणका क्रममा कम्तीमा १० अर्ब रुपैयाँ अनियमितता भएको निष्कर्षसहितको लेखा समितिको प्रतिवेदन

काठमाडौँ — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे अनुसन्धान गरी संलग्नलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्दै संसदीय समितिले अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि बुधबार अख्तियारलाई निर्देशन दिएको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले पोखरा विमानस्थलको अध्ययन तथा अनुगमन उपसमितिको प्रतिवेदनसमेत पठाउँदै थप अनुसन्धान र कानुनी कारबाही प्रक्रियाका लागि अख्तियारलाई निर्देशन दिइएको जानकारी दिए ।

राप्रपाका सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा रहेको उपसमितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीलाई तत्काल निलम्बन गरी शीघ्र छानबिन तथा अनुसन्धान गरी कानुनबमोजिम हदैसम्म कारबाही गर्न/गराउन अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखिपठाउन सिफारिस गरेको थियो ।

अधिकारी २०७१ देखि २०७४ सम्म विमानस्थल आयोजना प्रमुख थिए भने १७ माघ २०७८ देखि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक छन् । मुनकर्मी भने २०७४ देखि आयोजना प्रमुख छन् ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

Directing the authority to investigate the corruption of Pokhara Airport

उपसमितिले राष्ट्रिय गौरव आयोजनाकी निर्देशक चाँदमाला श्रेष्ठ, आयोजनाका इन्जिनियर प्रवीन न्यौपाने, आयोजनाका प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, प्राधिकरणका निर्देशक इन्जिनियर बाबुराम पौडेल, प्राधिकरणका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र संलग्न अन्य बहालवाला पदाधिकारीलाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो ।

उपसमितिले कर्मचारीलाई मात्रै कारबाहीका लागि सिफारिस गरेकामा लेखा समितिमा विवाद भएको थियो । एमाले सांसद योगेश भट्टराईले जसलाई कारबाहीका लागि सिफारिस गर्न लागिएको हो, उनीहरूसँग सम्बन्धित विषयमा बुझ्नुपर्ने बताएका थिए । ‘प्रतिवेदनमा जथाभावी कारबाही सिफारिस गरिएको छ । जसले

लगानी १४५ मिलियनबाट २१६ मिलियन डलर बनायो, त्यसको नाम छैन । जसले रिट्ठेडाँडा काट्न अनुमति र बजेट दियो, उसको नाम लेखिएको छैन ।

कारबाही सिफारिस गर्ने भए त यो गल्ती गरेको भनेर लेख्नुपर्छ । अर्थमन्त्रीहरू तानिनुहुन्छ कि तानिनुहुन्न ? चिनियाँहरूलाई सोधखोज नै गरेका छैनौं । उहाँहरू महत्त्वपूर्ण पक्ष हो,’ उनले भनेका थिए । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका सांसद भट्टराईले विमानस्थल निर्माणका क्रममा भएको अनियमिततासम्बन्धी निर्णयको प्रक्रियामा आफ्नो पार्टीका कोही संलग्न देखिए कारबाहीको दायरामा आउने बताए । ‘मेरो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको देखिए अख्तियारले छानबिन गर्दा म बयान दिन जान्छु । अर्को पयर्टनमन्त्री पनि जानुपर्छ ।’

समितिको बैठकमा एमालेकै सांसद ज्वालाकुमारी साह र अच्युत मैनालीले सम्बन्धित व्यक्तिलाई समितिमा बोलाएर आफ्नो धारणा राख्न र सफाइको मौका दिनुपर्ने बताएका थिए । ‘सम्बन्धित व्यक्तिलाई सफाइ दिने मौका दिनु प्राकृतिक न्यायको सिद्धान्त पनि हो । प्रतिवेदनमा नामै तोकेर फलानो भन्यौं तर ती व्यक्तिहरूको भनाइ के हो ?’ मैनालीले भनेका थिए ।

एकीकृत समाजवादीका सांसद एवं उपसमिति सदस्य प्रेम आलेले पोखरा विमानस्थलबारे कागजात माग्दा अर्थ मन्त्रालयले उपलब्ध नगराएको सुनाए ।

‘हामीले अहिलेसम्मको फ्लाइट प्रोसिड्युर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र उपलब्ध गराइएको छ । अहिलेसम्म अरू डकुमेन्ट पनि पर्याप्त पाएका छैनौं । ट्याक्सको डकुमेन्ट माग्दा पनि अर्थ मन्त्रालयबाट पाएनौं,’ पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका आलेले भने, ‘१४५ मिलियन डलरमा बन्ने एयरपोर्टको लागत रातारात २१६ मिलियन डलर पुर्‍याइएको छ । गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट हाल्दा सार्वजनिक खरिद ऐनअन्तर्गत ठेक्का गर्नॅपर्छ तर यहाँ १० अर्बभन्दा बढी रकमको आयोजना वार्ताद्वारा ठेक्का लगाएर भ्रष्टाचार गरिएको छ ।’

उपसमितिमा सदस्य रहेका कांग्रेस सांसद अर्जॅननरसिंह केसीले पोखरा विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको पाइएको बताए । ‘हामीले यत्रो महँगो ब्याजमा ल्याएको ऋण नेपाली जनताको थाप्लोमा बोकाएर हामी चुपचाप बस्ने परम्परा स्थापित भयो भने के हुन्छ ?’ उनले भनेका थिए ।

कांग्रेसका श्यामकुमार घिमिरेले भने उपसमितिले आफ्नो उद्देश्यअनुसार काम गरेको छ कि छैन भनेर प्रश्न उठाएका थिए । ‘अर्बौं रकम लगानी भयो तर विमानस्थल चलेको छैन । मुख्य उद्देश्य त्यो थियो तर प्रतिवेदन बोलेको छैन,’ उनले भने, ‘जुन कुराका लागि उपसमिति बन्यो, त्यसमा उपसमिति प्रवेश गरेन ।’

उपसमिति संयोजक लिङ्देनले भ्रष्टाचारमा संलग्न कसैलाई जोगाउन र कसैलाई फसाउनका लागि प्रतिवेदन नबनेको बताएका थिए । लेखा समितिले अख्तियारमा पठाएको अध्ययन प्रतिवेदनमा रन–वे, ट्याक्सी–वे, एप्रोन, बाँध, नाली निर्माणका लागि माटो खन्न तथा विमानस्थल बाहिरबाट ग्राभेल, माटो ल्याउन भुक्तानी गरिएको तर काम नभएको प्रतिवेदन उल्लेख छ ।

मूल सम्झौतामा ‘एडिसनल आइटम’ १ करोड ५२ लाख ३० हजार अमेरिकी डलरको उल्लेख रहेको तर अन्तिम बिलमा जम्मा ‘एडिसनल’ रकम २ करोड ४ लाख ३६ हजार ९ सय ६० रहेको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

विमानस्थलको‘फ्यासिबिलिटी’ आयोजनाकै रकमबाट गर्नॅपर्ने सम्झौताविपरीत एचभी एसी प्रणाली जडानका लागि प्राधिकरणले आफ्नो बजेटबाट ७ लाख ४२ हजार ६ सय ५९ अमेरिकी डलर भुक्तानी दिएको पाइएको छ । विमानस्थलभित्र २ लाख २० हजार अमेरिकी डलरमा इन्धन भण्डारण निर्माण गर्ने उल्लेख गरिएको तर त्यो काम नै नभएको पनि प्रतिवेदनमा छ ।

चीनले विमानस्थल निर्माणका लागि एक्जिम बैंकमार्फत सहुलियत ऋण दिने र चिनियाँ निर्माण कम्पनीले मात्र प्रतिस्पर्धा गर्न पाउने सर्तमा काम अघि बढाइएको थियो । विमानस्थल निर्माणका लागि प्राधिकरण र चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङबीच ८ जेठ २०७१ मा करिब २२ अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको थियो । विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मको नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न सबैलाई कारबाही गर्नॅपर्ने प्रतिवेदनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका