फोर आइज न्युज
शनिबार, जेष्ठ १८, २०८२
  • होमपेज
  • छुमचौरको मार्सी रोपाइँ [तस्बिरहरु]

छुमचौरको मार्सी रोपाइँ [तस्बिरहरु]

  • Arjun Rai
  • मङ्लबार, जेष्ठ ७, २०८२
छुमचौरको मार्सी रोपाइँ [तस्बिरहरु]

जुम्ला — विश्वको उच्च स्थानमा मार्सी धान फलाउने जिउलोको रूपमा चिनिएको छुमचौरमा मार्सी धानको रोपाइँ सुरु भएको छ । कृषि विकास कार्यालय जुम्लाले धान दिवसको आयोजना गरेर छुमचौर जिउलोमा औपचारिक रूपमा मार्सी धानको रोपाइ सुरु गरेको हो । पातारासी गाउँपालिका ३ स्थित छुमचौर जिउलोको तीन वटा खेतमा रोपाइँ चलेको हो ।

पछिल्लो समयमा मार्सी खेती सुरु हुने समयमा सबै यार्सा टिप्न पाटनतिर जाने भएकोले जिउलोमा रोपाइँ गर्न छोडिएको थियो । जसले गर्दा मार्सी धानको पहिचान बचाउन गाह्रो थियो ।

अहिले जिउलोमा मकै, सिमी, कोदो, चिनो र कागुनोको खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । मार्सी धानको खेती सुरु गर्न पटक पटक किसानको दैलोमा पुगेको समेत उनले बताए । उनका अनुसार पहिले पूरै जिउलो नै बाँझो थियो । अहिले धेरै खेतहरूमा मार्सी चामल रोपेको पाइन्छ ।

पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले मार्सी धानको बिउ खेतमा रोपेर रोपाइँ सुरु भएको थियो । पछिल्लो समयमा मार्सी धानमा रोगको संक्रमण देखिने,असिनाले नष्ट गर्ने र युवायुवती सबै पाटनमा जाने भएकोले धान खेती गर्न छाडिएको थियो ।

रोपेको धानमा रोग लाग्ने, असिना र वर्षातका कारण भित्र्याउने समयमा दाना झार्नेदेखि धानभित्रको चामल टुक्रा टुक्रा हुने समस्या देखिएकाले किसानहरुमा मार्सीप्रतिको चासो कम हुने गरेको छ ।

लामो समयदेखि किसानहरूले खेतहरू बाँझै राख्दै आएकोमा यो महोत्सवले किसानलाई हौसला दिने भएको छ । पातारासी गाउँपालिका–३ छुमचौरकी ललिता बोहोराले छुमचौरमा रोपिने मार्सी धानको पहिचान आफैमा महत्त्वपूर्ण भएको बताइन् । तर मरुवा रोगका कारण सधैँ उत्पादन कम हुने भएकोले किसानहरूको जोस हराउँदै गएको हो । ‘संसारको उच्च स्थानमा फल्ने मार्सी धान जिउलो छुमचौर भनेर सामान्य ज्ञानहरूमा समेटिएको छ । तर बर्सेनि खेतहरू बाँझो हुँदै जाँदा किसानहरू मार्सी धानको खेती छोड्न थालेका छन् । यो राम्रो भएन ।’ उनले भनिन् ।

छुमचौर जिउलोमा पछिल्लो समयमा न्यूनतम २० देखि ३० खेतमा मार्सी धानको रोपाइँ हुने गरेको छ । मार्सी धानको उत्पादनका लागि निरोगी मार्सी धानको बिउ उपलब्ध हुनुपर्ने, व्यावसायिक मार्सी धान खेतीको सुरुवातका लागि सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने किसानहरूको माग छ । मार्सी धानको खेतीबाट उत्पादन राम्रो नभएपछि किसानहरू यो समयमा हरेक वर्ष यार्सा संकलन गर्न पाटनतिर जाने गरेका छन् ।

समुन्द्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइमा रहेको प्रख्यात छुमचौर जिउलोमा मार्सी धान लहलहाउने गरेर योजना बनाउनसमेत किसानहरूले जिल्ला स्थिति सरोकारवालाहरूको ध्यानाकर्षण समेत गराएका छन्।

‘मार्सी धानको माग पनि अत्यधिक छ । मूल्य पनि उच्च नै छ,’ कृषि कार्यालय जुम्लाका प्रमुख अधिकारीले भने, ‘किसानले गुणस्तरीय मार्सी धान उत्पादन गर्नुपर्ने देखिन्छ । यसले गरिबी निवारणमा योगदान पक्कै पुर्‍याउने छ ।’

पातारासी गाउँपालिका–३ का वडा अध्यक्ष गोविन्द बुढाका अनुसार गाउँपालिकाले मार्सी धानको खेती सुरु गर्न डीपीआरसमेत बनाएको छ । भूमि व्यवस्था आयोगका विज्ञ सदस्य सुमन आचार्यले छुमचौर जिउलो आफैमा मार्सी धानको पहिचान बोकेको अमूल्य स्थान भएको बताए । उनले भने, ‘मार्सी धानको खेतीमा किसानको ध्यान केन्द्रित गर्न सरकारी कार्यक्रमहरू ल्याउनुको विकल्प छैन । उनले धानको पहिचान र महत्त्वका आधारमा धान संरक्षित क्षेत्रका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । मार्सी धानको मूल्य र महत्त्व दुवै छ तर हामीले थाहा पाइरहेका छैनौँ ।’

पातारासी–३ की बाटुल्ली बोहोराले छुमचौर जिउलोलाई मार्सी धानको पकेट क्षेत्रका रूपमा स्थापित गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सबै यार्सा टिप्न पाटन जान लागे । असिनाले भित्र्याउन लागेको धान सखाप पार्न लाग्यो । रोप्नेरी र हली समेत पाइने अवस्था छैन । धान रोगले ग्रसित छ ,’ उनले भनिन्, ‘निरोगी मार्सी धान र मार्सी धानप्रति स्थानीयको चासो अहिलेको अपरिहार्य हो ।’ पहिले पूरै जिउलोमा धान पाकिरहँदा निकै रमाइलो हुने गरेको स्मरण समेत उनले गरिन् । ‘यहीँको धान कतिपटक त काठमाडौंसम्म पुर्‍यायौँ,’ उनले भनिन्, ‘अहिले दसैंतिहारमा टीका लगाउने चामलसमेत पाउन कठिन छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका