अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम र त्यसभन्दा पनि महत्त्वपूर्ण युद्ध अन्त्यका लागि तत्काल कुराकानी सुरु गर्ने बताएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी गरेको उल्लेख गरेका छन् । ट्रम्पका अनुसार पुटिनसँगको कुराकानी सकारात्मक भएको थियो ।
उनले लेखेका छन्, ‘रुस र युक्रेन युद्धविराम र त्यसभन्दा पनि महत्त्वपूर्ण युद्धको अन्त्यका लागि तत्काल कुराकानी सुरु गर्नेछन् । यसका सर्तहरु दुवै पक्षबीचको सम्झौताले तय गर्नेछ ।’
ट्रम्पले यसको जानकारि ट्रुथमार्फत युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि दिएका छन् । यसबाहेक ट्रम्पले युरोपीय आयोगका अध्यक्ष उर्सुला वोन डेर लेयेन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, जर्मन चान्सलर फ्रिड्रिक मर्त्ज र फिनल्यान्डका राष्ट्रपति एलक्जेन्डर स्टबलाई पनि जानकारी गराएका छन् ।
यता रुसी राष्ट्रपति पुटिनले रुस शान्तिका लागि युक्रेनसँग सम्झौताबारे चर्चा गर्न तयार रहेको बताएका छन् । यद्दपि उनले सम्झौतामा के के सर्त हुने भन्ने चाहिँ स्पष्ट पारेका छैनन् । उनले संकटको मूल कारणलाई सम्बोधित गर्नुपर्ने चाहना राखेका छन् ।
यस्तै यस विषयमा युक्रेनका राष्ट्रपति जेलेन्स्की युद्ध समाप्त पार्नका लागि युक्रेन रुस, अमेरिका, युरोपीय संघका देश र बेलायतबीच एक उच्चस्तरीय बैठकमा विचार गर्ने बताएका छन् ।
जेलेन्स्कीले अमेरिकासँग पनि यस विषयको चर्चामा आफूलाई टाढा नराख्न अपील गरेका छन् । उनले भनेका छन्, ‘रुसलाई पनि सार्थक वार्तामा सहभागी हुनका लागि तत्परता देखाउन आवश्यक छ ।’