नवलपरासी — महेन्द्र राजमार्ग अन्तर्गतको दाउन्ने सडकको पहाडी खण्डमा ढलान सडक निर्माण सुरु भएको छ । पहिलो चरणमा दुवै खण्डको ५ सय मिटर सडक ढलान गरिएको छ ।
राजमार्ग निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदारले ठेक्का सकार्दा ३० प्रतिशत रकम छोडेर (टेन्डर हाल्दा ३० प्रतिशतमुनि हालेको) टेन्डर सकारेको हो ।
एसियाली विकास बैंकबाट लिएको ऋण सहयोगमध्ये त्यही ३० प्रतिशत रकम सरकारी कोषमा रहेको छ । त्यसै कोषबाट व्यवस्थापन गर्नेगरी हाल परीक्षणका रूपमा दुवैतर्फबाट (दुम्कीबास र बर्दघाट तर्फबाट) ५ सय मिटर सडक ढलान भइसकेको छ ।
सडक आयोजना निर्देशनालय काठमाडौँका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार दाउन्ने सडक खण्डमा थप साढे २ किलोमिटर ढलान सडक निर्माणका लागि अनुमति दिइसकेको जानकारी दिए । कालोपत्रे सडकभन्दा ढलान सडक ६ गुणा बढी टिकाउ हुने उनले सुनाए । ‘सुरुमा लागत रकम केही बढेको देखिएपनि यो राजमार्ग कालोपत्रेभन्दा ६ गुणा बढी बलियो हुँदा बर्सेनि मर्मत गरिरहन पर्ने झन्झट हुँदैन,’ उनले भने, ‘आफ्नै देशको बालुवा र सिमेन्टको प्रयोगबाट निर्माण हुने भएकाले यसमा खर्च हुने रकम ( लागत रकम) पनि स्वदेशमै जाने भएकाले यो प्रविधि बढी किफायती हुने देखिएको देखिन्छ ।’
सडक निर्माणको काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दाउन्नेको सडक ढलानमा पूर्वी नवलपरासीमै कारखाना रहेको चिनियाँ लगानीको होङ्सी सिमेन्ट प्रयोग गरिरहेको छ । चिनियाँहरुले संसारका जुनसुकै देशमा गर्ने निर्माणको कार्यमा सम्भव रहेसम्म आफ्नै देशको उत्पादन (चिनियाँ सिमेन्ट कारखानाबाट उत्पादित सिमेन्ट) प्रयोग गर्ने प्रचलन रहेको ठेकेदार कम्पनीले बतायो ।
बुटवल–नारायणगढ सडक आयोजना पूर्वी प्रवक्ता शिव खनालका अनुसार सडक आयोजनाले परीक्षणका लागि पहिलो चरणमा सोमबारसम्म ५ मिटर सडक ढकाल गरिसकेको जानकारी दिए । यहाँको राजमार्गमा ढलान सडक निर्माणको परीक्षण गरिएको र देशभरका लागि दीर्घकालीन योजना बनाउन सघाउने उनले बताए ।
कालोपत्रे गरिएको सडकभन्दा सिमेन्टले ढलान गरेर निर्माण गरिएको सडक धेरै वर्ष बढी टिकाउ हुने खनालले सुनाए । भने, ‘ढलान गरिएको सडक धेरै बलियो र मर्मत सम्भारको खर्च त्यति आउँदैन जबकि कालोपत्रे सडक हरेक वर्ष मर्मत सम्भार गर्ने पर्छ ।’
कालोपत्रेभन्दा ढलान सडक सुरुमा साढे २ गुण महँगो पर्छ तर धेरै वर्ष टिकाउ हुन्छ । कालोपत्रेभन्दा ६ गुणा बढी टिकाउ हुन्छ । बर्सेनि मर्मत सम्भारमा रकम निकै कम खर्च हुने भएकाले यो धेरै किफायती देखिन्छ । दाउन्ने जस्तो सडकमा लागत रकमको अनुमान र सडकको टिकाउकोसमेत परीक्षणका लागि केही मोडालिटी चेन्ज गरेर ढलान सडक निर्माणको काम सुरु भएको खनालले जानकारी दिए ।
अबको केही दिनमा ढलान सडकको लागत, टिकाउपनको समेत विश्लेषण गरेर दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये कति सडकमा ढलान गर्ने भनेर निर्णय हुने खनालले जानकारी दिए । दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये कति किलोमिटर ढलान सडक निर्माण गर्ने भन्ने यकिन चाँडै हुने उनले सुनाए । ठाडै उकालो सडक, पानी बगिरहने स्थानमा ढलान सडक निर्माण गरेर परीक्षण गरिएको खनालले जानकारी दिए ।
दाउन्ने सडकको फराकिला घुम्टी (मोड) र ठाडो उकालोमा ढलान गर्ने योजना अन्तर्गत काम सुरु भएको हो ।
उकालो चढ्ने लेन पहाडको भित्तातर्फको हुने छ । त्यो लेनमा मालबहाक ट्रक (क्लाइम्बिङ लेन) मात्र हिँड्ने हुने छ । अरू दुई लेनबाट अन्य गाडी हिँड्ने व्यवस्था हुने छ ।
महेन्द्रराजमार्ग अन्तर्गत दुम्किबास बर्दघाट खण्डको बीचमा पर्ने दाउन्ने पहाडमा ३ लेनको सडक निर्माण भइरहेको छ ।
दाउन्ने सडक खण्ड साढे १२ मिटर चौडाइको हुने छ । दाउन्ने सडक खण्डको बर्दघाटदेखि पूर्व दाउन्ने बजारसम्मको क्षेत्रमा सोमवार सम्म करिब ३ किलोमिटर सडक पिच भइसकेको छ ।
दाउन्नेको करिब १० किलोमिटर सडकमा ढलान प्रविधि अपनाउँदा ३ लाख बोरा सिमेन्ट खपत हुने आयोजना निर्देशक ढकालले जानकारी दिए । सिमेन्ट, बालुवा, ढुंगा गिटी, पानी , फर्मा र श्रमिकसमेत नेपाली नै प्रयोग हुने भएकाले यो बढी उपयोगी हुने ढकालको दाबी छ । कालोपत्रे गर्दा त्यसमा आवश्यक सबै कच्चा पदार्थ भारतबाट ल्याउनपर्ने बाध्यता छ ।