Highlights
काठमाडौँ — खासमा त उनको नाम गोमा थियो । स्वस्थानी सुनेर हुर्किएकी आमा भगवती भट्टराईलाई गोमाका दुःखहरूले असाध्यै छोएका थिए । त्यसकारण छोरीलाई दुःखबाट दूर राख्न नामै फेरिदिइन् । छोरी गोमाबाट रञ्जु भइन् । किन किन, आमालाई यो नाम पनि निको लागेन । कुनै कुरामा गहिरो बोध गर्न सक्ने, अरूको पीडा अनुभूत गर्न सक्ने, लेखपढ गर्न रुचाउने छोरीको स्वभाव थियो । उनले स्वभावअनुसारको नाम खोजिन् । एउटा नाममा आएर चित्त बुझाइन् । त्यस दिनदेखि छोरी रञ्जुबाट विद्या भइन् । आमाको अन्तरकुन्तरमा त्यसबेलादेखि नै थियो कि, ‘छोरीले थुप्रै ज्ञान र नाम कमाउँछे ।’
शिक्षामन्त्रीबाट राजीनामा दिएपछि सांसद विद्या भट्टराई कहिले टेम्पो चढ्दै गरेको भेटिन्छिन् त कहिले पैदल हिँडिरहेको । सरकारमा हुँदा पनि इमानदारितापूर्वक आफूलाई प्रस्तुत गरेकी उनलाई ठूला सुविधाहरूको मोह कहिल्यै भएन । सत्तामा हुँदा होस् वा बाहिर रहँदा विद्याले तीन कुरालाई सधैं आत्मसात् गरिन्– सिर्जनशीलता, सकारात्मकता र सहनशीलता । अन्तिम श्वास फेर्नुअघिसम्म पनि आमाले छोरीलाई दिएका दिव्य ज्ञान थिए यी । जुन विद्याका लागि जीवन पर्यन्त अमूल्य छन् ।
पाँच वर्षअघि ८७ वर्षको उमेरमा आमाले चोला फेरिन् । आमा नहुनुको महसुसले बिझाइहाल्छ नै । तर आमाका स्मृति, प्रेम र वाणीहरूले हुनुको अर्थ पनि दिलाइरहन्छन् । बेलाबेला आमाका कथाहरू सम्झिन्छिन् विद्या । जुन आमाले कहिल्यै सुनाइनन् । आमाले सुनाएका भन्दा नसुनाएका कथाहरू पीडादायक थिए । आमा चाहन्नथिन् छोरीलाई पीडा बाँड्न । साक्षीहरूबाट आमाका नभनिएका कथा थाहा पाएकी विद्याले अहिले पनि ती घटनाहरू सम्झिन्छिन् । जसले उनलाई वर्षौं पुराना समयका धमिला दृश्यहरूतर्फ डोहोर्याउँछ ।
विवाह हुँदा जम्मा ९ वर्षकी थिइन् भगवती । श्रीमान् हेमराज भट्टराई उनीभन्दा २० वर्ष जेठा थिए । भगवतीभन्दा अगाडि दुई श्रीमती विवाह गरिसकेका थिए उनले । श्रीमान्का जेठो छोराभन्दा २ वर्षले मात्र जेठी थिइन् उनी । वैवाहिक जीवनको लामो अन्तरालपछि भगवतीले सुस्केरा काढ्दै भनेकी थिइन्, ‘मेरो मन कहिल्यै खुसी भएन । बरु मलाई कहीं लगेर फालिदिएको भए पनि हुन्थ्यो ।’ विद्याले बुझ्दै जाँदा बालाई एक पटक प्रश्न पनि गरेकी थिइन्, ‘तपाईंले त्यति सानो उमेरकी मेरी आमालाई किन बिहे गर्नुभएको ?’ आमाले आफ्नो दुःख बिसाउने ठाउँ कहिल्यै पाइनन् । श्रीमान्लाई सुनाऊँ, उमेरले धेरै जेठा । भित्रभित्रै त्यसको असर जीवनभर बाँकी रह्यो भगवतीमा ।
पाँचौं सन्तान जन्माएर पनि उनीहरूले जीवन पाएनन् । पहिलो सन्तान तीन महिनामा बिते । दोस्रो जन्मनासाथ । तेस्रो सन्तान ४ वर्षमा । चौथो र पाँचौं पनि नबाँच्दा एउटी आमाको मन कति पटक टुट्यो होला, विद्या अनुमान लगाउन खोज्छिन् । पाँचौं सन्तान बितेको १२ वर्षपछि २०३० मा छोरी जन्मिइन् । तर आमाको अनुहार उज्यालिन नपाउँदै उनलाई निमोनिया भयो । एक महिना अस्पताल राखिन् । हरेक दिन, हरेक रातहरू प्रतीक्षा र प्रार्थनामा बिते भगवतीका ।
छोरीले निमोनियालाई जितिन् । निमोनिया जितेको २ वर्षपछि चार तलाबाट खसिन् । धन्न, जीवन जोगियो, खुट्टा भने भाँचियो । विभिन्न घटनाहरूबाट जोगाएर भगवतीले छोरीलाई हुर्काइन् । विद्या बुझ्ने हुँदा आमा भन्थिन्, ‘तँ त बल्लबल्ल बाँचेकी होस् ।’
छोरी विद्या र रवीन्द्र अधिकारीको विवाहमा आशीर्वाद दिँदै आमा भगवती ।
विद्या आमाभन्दा ४० वर्ष कान्छी, बाभन्दा ६० वर्ष । हुर्कंदै जाँदा देख्थिन्, साथीका बा–आमा भर्खरका थिए । आफ्ना बा–आमालाई बिस्तारै बुढ्यौलीले छुँदै गएको थियो । यो सम्झेर ननिको लाग्थ्यो उनलाई । आमाभित्र सन्तान गुमाउँदाको पीडा भित्रसम्म गढेको थियो । परिवार ठूलो थियो, तर एक्ली जस्ती थिइन् आमा । छोरीलाई बेलाबेलामा भन्थिन्, ‘हाम्रो तँ र मबाहेक को छ र ?’ विद्यालाई लाग्थ्यो, ‘यतिका छन् त ?’ आमा थप्थिन्, ‘छन्, तर उनीहरूलाई त रिझाउने हो । राम्रो सम्बन्ध गर्दा मात्रै आफ्नो हुने हो ।’
आमालाई घोचपेच गर्नेहरू थिए । अपाच्य शब्दहरू बोल्थे । आमा सहन्थिन् । १५ वर्षको हुँदा विद्यालाई आमा यति दमित भएको सह्य भएन । तर आमा छोरीलाई सम्झाउँथिन्, ‘हामीले जवाफ बोलेर हैन, व्यवहारले दिनुपर्छ । त्यसैले तैंले केही गर्नुपर्छ ।’ आमाको यही स्वभाव विद्यामा पनि सर्यो । ‘आमाले भनेजस्तै म मान्छेहरूलाई जवाफ मुखले हैन, व्यवहारले दिन्थें,’ विद्या सुनाउँछिन् । भगवतीले छोरीलाई कहिल्यै गह्रुँगा काम लगाइनन् । उनी अह्राएर हैन, छोरीले आफैं बुझेर गरोस् भन्ने पक्षमा थिइन् । विद्याले आमाको त्यो मर्म बिस्तारै बुझ्दै गइन् ।
विद्या आमालाई नाच्न लगाउँथिन्, गाउन लगाउँथिन् । चाबहिल घर नजिकै मित्र वाचनालयमा पुस्तक पढ्न दाइहरू जान्थे । आमा पुस्तकालयमा पढ्न पठाउँथिन् । त्यहाँका हाजिरीजवाफ प्रतियोगितामा भाग लिन लगाउँथिन् । आमा एउटै कुरामा चाहिँ सम्झाइरहन्थिन्, ‘खुट्टालाई असर पर्ने गरी नखेल । अरू त जे गर्नु छ गर ।’ मित्र वाचनालयबाटै विद्यामा अध्ययनको गहिरो भोक जाग्यो । त्यहींबाट उनमा राजनीतिक चेतको बिजारोपण भयो । चिनियाँ साहित्य, रसियन साहित्य, महिलावादी पुस्तकहरू, मार्क्स र एंगेल्सका जीवनी र मार्क्सवादी सिद्धान्त उनले मित्र वाचनालयबाटै छिचोलिन् । प्रगतिशील पुस्तकसँगै उनको राजनीतिक जीवन पनि अखिलको यात्राबाट सुरु भयो । बा–आमालाई छोरीले पढेको कुरामा खुसी थियो । तर राजनीतिमा जोडिएको कुरामा भने सन्तुष्टि थिएन । उनी पढ्न जाने भन्दै राजनीतिक कार्यक्रमहरूमा बा–आमाको आँखा छल्दै जान्थिन् ।
विद्या कक्षा १० मा पढ्दै गर्दा पनि ट्युसन पढाउँथिन् । त्यतिमात्र हैन, टोपी र मफलर पनि बुन्थिन् । अनि राजनीतिमा पनि लाग्थिन् । बिस्तारै बा–आमालाई लाग्न लाथ्यो, ‘सबै भ्याएकी त छे । गरेर के भयो त !’ विद्याले २१ वर्षमा स्नातक गरिन् । विद्याले समाजशास्त्रमा स्नातकोत्तर र मानवशास्त्रमा एमफिलसम्मको अध्ययन गरिन् । पछि गएर उनी त्रिविमा समाजशास्त्रको उपप्राध्यापकसमेत भइन् ।
एमालेमा आबद्ध रहेर राजनीतिक यात्राकै क्रममा उनको भेट रवीन्द्र अधिकारीसँग भयो । उनीहरूको भेट प्रेममा परिणत भयो । त्यो प्रेमले विवाहको रूप लियो । आमा भन्ने गर्थिन्, ‘काठमाडौंबाट बाहिर बिहे नगर्नू ।’ छोरी आफूबाट टाढा हुन्छिन् भन्ने डर थियो आमामा । तर उनको बिहे काठमाडौंबाहिर नै भयो । बिहेको दिन छोरीलाई बिदाइ गर्नुपर्दाको पीडा आमाको आँखामा छचल्किएको देखेकी थिइन् विद्याले । ‘बिहेमा आमालाई बेसरी गाह्रो भयो । आमा रोएको हेर्न सकिनँ,’ विद्या त्यो क्षण सम्झिन्छिन् ।
बिहेपछि विद्याको जेठो छोरा विराज जन्मिए । छोरा जन्मिएको १४ महिनासम्म उनी काठमाडौं बसिन् । नाति स्याहार्न पाउँदा आमा निकै खुसी भइन् । त्यसपछि उनीहरू पोखरा फर्किए । आमाको मन पोलिरह्यो । ‘चाडपर्वमा म यता परिवारमै भुल्थें । काठमाडौं जान पाउन्नथिएँ । आमालाई भएको एउटा सन्तान पनि चाडपर्वमा सँगै नहुने कुराले खल्लो लाग्दो रहेछ,’ विद्या सम्झन्छिन् ।
विद्याका बा ०६२ सालमा बिते । बा बित्दा साथमा कोही थिएनन् । भगवतीलाई बिझाउँदो रहेछ, ‘म बित्दा पनि छोरी हुन्न कि ।’ विद्या पनि चाहन्नथिइन् आमाबाट टाढा रहन । पोखरा गएको २ वर्षपछि उनी पुनः काठमाडौं आइन् । ‘मैले आमालाई कहिल्यै व्यक्त गरिनँ । तर म आमाकै लागि आएको थिएँ,’ विद्या सुनाउँछिन् । ०७५ सालमा विद्याको जीवनमा ठूलो बज्रपात पर्यो । तत्कालीन पर्यटन तथा संस्कृतिमन्त्री रहेका श्रीमान् रवीन्द्र हेलिकोप्टर दुर्घटनामा अस्ताए । त्यो घटनाले विद्यालाई निकै आघात पुर्यायो ।
जीवनको सबैभन्दा कठिन र अँध्यारो क्षणबाट गुज्रिरहेको बेलामा पनि विद्यालाई आमाकै पिर थियो । त्यो घटनाले आमालाई के होला भन्ने डरले डसिरह्यो । तर आमाले छोरीको अघि आँसु देखाइनन् । बरु भनिन्, ‘तिमीले मेरो जीवन पनि देखेकै छौ । तिमी सम्हालिनुपर्छ छोरी ।’ त्यो घटनापछि विद्यालाई आमाको पिरलो बढ्न थाल्यो । उनले आमालाई बढी समय दिन थालिन् । रवीन्द्रले जितेको क्षेत्रमा उपनिर्वाचन हुने भयो । विद्या निर्वाचनमा उठिन् । आमासँग राय लिँदा भनेकी थिइन्, ‘तँ खुसी छस् भने मात्र उठ्नू ।’ चुनाव जित्दा आमा आईसीयूमा थिइन् । त्यो खुसी तत्काल भन्नै पाइनन् विद्याले । पछि निको भएर फर्केपछि परिणाम थाहा पाइन् । भगवतीले खुसी हुँदै भनिन्, ‘तँलाई जनताले धेरै माया गरेका छन् ।’
भगवतीले जीवनमा लामो कालखण्ड एक्लो अनुभूत गरिन् । छोरी हुर्कंदै जाँदा आफ्नो कोही छ भन्ने कुराले खुसी हुन सिकिन् । विद्याको बिहेसँगै नाति पाएपछि आफ्नो पनि परिवार भएको अनुभूत गरिन् । ‘अब त मेरो पनि परिवार भयो भन्ने खुसी त्यतिबेला आमाको अनुहारमा देखिएको थियो,’ विद्या सुनाउँछिन् । दुई नातिसँग भगवतीको गहिरो स्नेह थियो । सानो नाति स्वराज भन्थे, ‘आमा, मैले गाडी किने भने सबैभन्दा पहिला तपाईंलाई चढाउँछु ।’ भगवतीले मलिन अनुहार लगाउँदै भन्थिन्, ‘तिमीहरू हुर्किंदासम्म म बाँच्दिनँ होला ।’
आमा छोरी टाढा जाँदा पर्खिरहन्थिन् । खाना बनाउँथिन् र आफू नखाई प्रतीक्षा गर्थिन् । विद्या बाहिर केही खाएर आइसकेकी हुन्थिन् । आमा भोकै बसेको देखेर गाली गर्थिन् । आमा मायालु लवजमा भन्थिन्, ‘तिमी आउँछौ भनेर पर्खिरहेको ।’ आमाको त्यही बानी अहिले विद्यामा सरेको छ । अहिले छोराहरू टाढा हुँदा खाना खाए, खाएनन् चिन्ता हुन्छ विद्यालाई । ‘आमालाई गहिरिएर बुझ्न आमा नै बन्नुपर्दोरहेछ,’ विद्याको बोध छ ।
विद्यालाई लाग्थ्यो, आफ्ना हरेक सफलतामा आमाको उपस्थिति भइदियोस् । तर बुढ्यौली उमेरले रोग बढाइरहेको आमालाई झन्–झन् गलाइरहेको थियो । कोभिडलगत्तै आमा बिरामी परिन् । ‘अब म बाँच्दिनँ जस्तो छ । तिमी आफैं बुझ्नेछौ, राम्रो गर,’ जीवनको अन्तिम घडीमा आमाले भनेका शब्दहरू अहिले पनि कानमा गुन्जिन्छन् । श्वास छुट्नुअघि आमाले शय्याबाट विद्याको हात समाइन् । केही भन्न बल गरिन्, सकिनन् । बल गर्दागर्दै शान्त भइन् । विद्याले बोलाइन्, आमा बोलिनन् । त्यसपछि कहिल्यै बोलिनन् । आमा गुमाएपछि विद्या निकै समयसम्म सम्हालिन सकिनन् । एक्लो अनुभूत गरिन् । सोचिन्, ‘मेरो त सबै सकियो ।’ बिस्तारै हुर्किरहेका छोराहरूलाई सम्झिइन् । मन बुझाउने बाटो बनाइन् । सानो छँदा आमासँगै विद्या ठमेलस्थित मामाघर जान्थिन् । आमाका न्याना हात समातेर चाबहिलबाट लैनचौर, दरबार क्षेत्र हुँदै हिँडेर ठमेल पुग्थिन् । अहिले पनि ती ठाउँहरू पुग्दा उनी १० वर्षकी सानी केटी र आमा सम्झिन्छिन् । र, पिरोलिन्छिन्, ‘अब त ती न्याना हातहरू पनि छुटे ।’
सम्झाउनेहरू हुन्छन्, बुझाउन खोज्नेहरू हुन्छन् ।
आफ्नाहरू हुन्छन्, आफन्तहरू हुन्छन् । तर आमा नहुनु भनेको धेरै थोक नहुनु लाग्दो रहेछ विद्यालाई । ‘आमाको ठाउँ तँ कसैले लिनै नसक्ने रहेछ,’ आँखालाई वरपर भुलाएर सम्हालिन खोज्दै विद्या संवादको बिट मार्छिन् ।