सुनसरी — धरान उपमहानगरपालिकाले इटहरीमा जारी पहिलो सभापति कप अन्तरनगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा दुहबी नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।
धरानलाई उपाधि जिताउन कप्तान तपन कार्कीले २ तथा सरुण श्रेष्ठले १ गोल गरे । खेलको म्यान अफ द म्याच धरानका तपन कार्की घोषित हुँदै नगद २ हजार ५ सय पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धरानका मदन लिम्बु घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।
धरानका प्रबिण लिम्बु उत्कृष्ट गोलकिपर, तपन कार्की बेष्ट मिडफिल्डर, अर्जुन राई उत्कृष्ट प्रशिक्षक घोषित भए । दुहबीका अभिषेक गुरुङ बेष्ट फरवार्ड र भगवानलाल माझी उत्कृष्ट डिफेन्स घोषित भए । उनीहरुले जनही नगद ५ हजार पुरस्कार पाए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशले संयोजन गरेको प्रतियोगिताको विजेता धरानले नगद १ लाख ११ हजार रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता दुहबीले ५५ हजार रुपैयाँ पुरस्कार हात पारेको छ ।
इटहरी फुटबल क्लबको आयोजनामा वैशाख २४ देखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ८ पालिकाको सहभागिता थियो ।