श्रीलंकाको गलत आर्थिक नीतिका कारण देश संकटमा पुगेको छ । आर्थिक संकटसँगै निम्तिएको आन्दोलनले जनविद्रोहको रुप लिँदै गएको छ । जनताको शक्तिका अगाडी अहिले त्याहाँको शसस्त्र सुरक्षा बलको पहराले कुनै काम गरेको छैन ।
जनताले राष्ट्रपति भवनदेखि प्रधानमन्त्रीमन्त्रीको निवास सम्म आगजानी र कब्जा गरीसकेका छन् ।
राष्ट्रपति भवनको आलिसान स्वीमीङपुलमा अहिले आन्दोलनकारीले पौडी खेलिरहेका छन् भने भान्सामा उनीहरु भात पकाएर खाईरहेका छन् । राष्ट्रपति र प्रधानमन्त्री कहाँ बसेका छन् एकीन छैन ।
दशकौँदेखिको परिवारवादमा फसेको श्रीलंकामा बढ्दो भ्रष्टाचार र गलत आर्थिक रबैयाका कारण देश टाट पल्टिएको छ ।
त्याहाँ ईन्धनको चरम अभाव छ भने विद्यालयहरुमा कापी किताव किन्ने पैसा छैन । यो संकटका बीच नेताहरुलाई जनताले घर घरबाट थुतेर कुटपिट गर्दै नेताहरुको आलिसान र भव्य महलहरुमा आगो झोसिरहेका छन् ।
त्यही मित्रराष्ट्र श्रीलंकामा देखिएको जनविद्रोहले नेपाली नेताहरुमा पनि त्रास उत्पन्न हुन थालेको देखिएको छ ।
अहिले राप्रपाका कमल थापादेखि जसपाका बाबुराम भट्टराई र काँग्रेसका उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले श्रीलंकाबाट पाठ सिक्नु पर्ने, नेताहरुको नाममा विकासका आयोजना र रकम बाँड्न नहुने भन्दै त्यस्तै स्थिति आउन सक्ने चेतावनी दिन थालेका छन् ।
आर्थिक क्षेत्र नेपालमा पनि संकट तर्फ गईरहेको छ । चरम वितरणमुखी एवं नेता कार्यकर्ता पोस्न केन्द्रीत गरिएका बजेट प्रणाली, नेताहरुको आलिसान जीवनशैली र जनतामा रोजगारीको अभाव, आर्थिक संकटका कारण आक्रोश बढीरहेको छ ।
भोली नेताहरुको यही अवस्था आउन सक्ने भन्दै अहिले देखि नै उनीहरु सचेत हुुनु पर्ने चेतावनी आउन थालेको छ ।
जसपा अध्यक्ष बाबुराम भट्टराईले श्रीलंकाको आन्दोलनलाई रुसको अक्टोबर क्रान्ति र फ्रान्सेली क्रान्तिसँग तुलना गर्न थालेका छन् ।