शनिबार बेलुकी साढे ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ उत्तरबाहिनीस्थित टहरामा बस्ने एक महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
राजेन्द्र श्रेष्ठको जग्गामा टहरा लिएर बसेकी रामेछाप उमाकुन्ड गाउँपालिका-५ घर भई टहरामा बस्दै आएकी ४९ वर्षीया सुशीला खड्काको मृत्यु भएको हो।
गए राति उनी शौचालयमा जाँदा लडेर बेहोस अवस्थामा फेला परेकी थिइन्। उनकी बहिनीले लडिरहेको अवस्थामा फेला पारेपछि अस्पताल लगिएको थियो।
उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए। मृत्यु भएको खबरपछि प्रहरी निरीक्षक विशाल तामाङको कमान्डमा सात जनाको टोली परिचालन भएको थियो।
शव नेपाल मेडिकल कलेजमै राखिएको छ। प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अघि बढाएको छ।