कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–१ वंशाका जगन्नाथ जोशीले दुई वर्षअघि १५ विघा जमिन लिजमा लगाएर केरा खेती सुरु गरेका थिए । वार्षिक ६ लाख तिर्ने गरी उनले जमिन लिजमा लिएका थिए । केरा खेती पनि राम्रै भइरहेको थियो । तर गत साता हात्तीको बथान आएर घरी आएको केरा सखाप पार्यो ।
आधा खेतको केरा सबै हात्तीको बथानले नष्ट पारेको छ । ३ किलोमिटर पश्चिममा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले उनको एक वर्षको मिहिनेत र लगानी सबै सखाप पारे । ‘केरा राम्रै भइरहेको थियो, उत्पादन पनि राम्रै हुन्छ भन्ने आसा थियो,’ जोशीले भने, ‘हात्तीले एकै रातमा वर्षभरिको मिहिनेत खेर फालिदियो ।’ उनका अनुसार एकै रातमा २५ सय पसाएको घरी नष्ट पारेको छ । ५/६ लाखको नोक्सान भएको उनले बताए ।
माघ दोस्रो साता भीमदत्त नगरपालिका—१९ बागफाँटामा पनि हात्तीले दुई घर भत्काउनुका साथै गहुँवालीमा क्षति पुर्याएको छ । तारादेवी भाट र हरु भाटको घर भत्काउनुका साथै करिब ४ विघाको गहुँबालीमा क्षति पुर्याएको हो । ‘हात्तीको बथान आएर खेतीपातीमात्रै होइन ज्यान जोगाउनै गाह्रो भयो,’ हरुले भनिन्, ‘रातभरि जाग्राम बस्नुपर्ने बाध्यता छ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतको दुधुवा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा हात्तीले बर्सेनि ठूलो मात्रामा धनजनको क्षति पुर्याउने गरेको छ । निकुञ्ज क्षेत्रमा मात्रै होइन लालझाडी संरक्षित क्षेत्र आसपास पनि हात्तीले क्षति पुर्याइरहेको छ । निकुञ्ज र डिभिजन वन कार्यालयले रोकथामका लागि विभिन्न प्रयासहरु पनि गरिरहेको छ । तर त्यो पर्याप्त हुन नसकेको पीडितहरु बताउँछन् । ‘दश/बाह्र वर्षदेखि खेतीपाती भित्र्याउनै पाइँदैन,’ शुक्लाफाँटा नगरपालिका— ५ वनसमितिका सिद्धराज जोशीले भने, ‘जंगल किनारमा बस्दा दु:ख मात्रै पाइन्छ, कुनै बेला त ज्यान जोगाउनै गाह्रो ।’ उनको डेढ विघाको जमिनमध्ये आधाको गहुँवाली हात्तीले नोक्सान गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउकै बस्ती भएकाले हरेक परिवारको खेतीपाती नोक्सान गरेको उनले बताए ।
‘हात्ती आए ड्रम बजाउने, थाल ठटाउने र आगो बालेर सबै मिलेर धपाउछौं,’ वनसमितिका खेमराज नाथले भने, ‘हात्तीमात्रै होइन साना वन्यजन्तुले पनि बालीनाली सखाप पार्छन् ।’ उनका अनुसार विगतमा निकुञ्ज प्रशासनले पटाकादेखि साइरन वितरण गर्दै आएको थियो । तर, पछिल्लो पटक हात्ती तथा अन्य वन्जन्तु राकेथामका लागि केही सहयोग नगरेको उनले बताए ।
राष्ट्रिय वन क्षेत्र आसपासमा पनि ठूलो मात्रामा खेतीपाती नोक्सान भएको स्थानीय बताउँछन् । सबैभन्दा दक्षिणी क्षेत्रको पुनर्वासमा क्षति हुने गरेको छ । हात्ती पीडित संघर्ष समितिका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाका अनुसार करिब ४० विघाको गहुँ र १ सय विघाको उखु हात्तीले नष्ट गरेको छ । फागुन अन्तिम साता दुधुवा राष्ट्रिय निकुञ्जबाट आएको एक हात्ती पुनर्वास नगरपालिकामै दोदा नदी किनारमा मृत अवस्थामा भेटिएको थियो । ‘दुधुवा किनारका धेरैले खेतीपाती लगाउनै छाडिसके,’ तिमिल्सिनाले भने, ‘हामीले सबै उपाय अपनाइ सक्यौं, तर पनि हात्ती आउन रोकिएको छैन ।’
विगतमा ट्याक्टर चलाएर उज्यालो गर्दा हात्ती भाग्ने गरे पनि अहिले भने ट्याक्टर देख्दा आक्रमण गर्न आउने गरेको उनले बताए । जुटको रस्सीमा खुर्सानी र मोबिल लगाउने गर्दा केही समय हात्ती रोकिए पनि फेरि आउन थालेको उनले बताए । हात्ती धपाउने क्रममा केहीको ज्यान गएको र घाइतेसमेत भएको उनले बताए । सन् २०१६ यता मात्रै निकुञ्ज र सामुदायिक वन क्षेत्र नजिकका बस्तीमा हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ । ५ सय बढी किसानको अन्नबालीमा क्षति पुर्याएको छ । ५० बढी घर टहराहरु हात्तीले भत्काएका छन् ।
हात्तीको आक्रमण भएका व्यक्तिको परिवारलाई जनही १० लाख, पशुधनको क्षति भएमा १० हजार र अन्नवालीको क्षति भएमा ५ देखि १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । जसका लागि जग्गाधनी पुर्जा अनिवार्य हुन्छ । तर, निकुञ्ज तथा वनका किनारमा अधिकांश जमिन ऐलानी (लालपुर्जा नभएको) भएकाले उनीहरु राहत तथा क्षतिपूर्ति पाउनबाट वञ्चित हुने गरेका छन् ।
मानव–वन्यजन्तु द्वन्द्व रोकथाम
बर्सेनि हुने हात्तीको आक्रमण रोक्न परम्परागत करिडोर व्यवस्थापनसँगै निकुञ्ज किनारमा व्यवस्थित ढंगले विद्युतीय तारबार लगाउनुपर्ने सरोकारवाला बताउँछन् । दुधुवा राष्ट्रिय निकुञ्जदेखि लालझाडी संरक्षित क्षेत्र हुँदै शुक्लाफाँटा र पिलिभित टाइगर रिजर्भसम्म पुग्ने हात्तीको परम्परागत मार्ग हो । यसैगरी दुधुवाबाट लालझाडी हुँदै चुरेफेदी भएर ब्रह्मदेव हुँदै भारततर्फ जाने यो पनि हात्तीको परम्परागत मार्ग हो ।
‘सबैभन्दा पहिले करिडोर व्यवस्थापन गरिनुपर्छ, त्यसपछि बासस्थानको व्यवस्थापन अनिवार्य हुन्छ,’ कुण्डा सब–डिभिजन वन कार्यालय पचगडिया पुनर्बासका प्रमुख सहायक वन अधिकृत दिनेश यादवले भने, ‘करिडोरमा भएको बस्ती र घर टहराहरु हटाएर हात्तीको आवागमन सहज बनाइनुपर्यो ।’ वनभित्र हात्तीका लागि आहारा तथा पानीको स्रोतको पनि व्यवस्थापन हुनुपर्छ । आहारा नपाइए हात्ती बस्तीमा पस्न थाल्छ । दुधुवा–लालझाडी–शुक्लाफाँटा हात्तीको परम्परागत करिडोर हो । पछिल्लो समय यो करिडोर बीचबीचमा अतिक्रमणको चपेटामा परेको छ । जसका कारण हात्ती बर्सेनि बस्तीमा पस्ने गरेको छ ।
निकुञ्ज कार्यालय र डिभिजन वन कार्यालयले पछिल्लो समय विद्युतीय तारबारदेखि साइरन वितरण लगायतका गतिविधिहरु गरिरहेको छ । विद्युतीय तारबारको नियमित मर्मत हुन नसक्दा दिगो नहुने स्थानीय बताउँछन् । ‘विद्युतीय तारबार लगाएपछि केही समय त हात्ती बस्तीमा पसेनन्,’ संघर्ष समितिका संयोजक तिमिल्सिनाले भने, ‘तरपछि मर्मत नहुँदा फेरि हात्तीको आतंक सुरु भयो ।’ उनका अनुसार जुटको रसीमा खुर्सानीको धूलो लगाएरसमेत केही समय हात्ती रोकिएको थियो ।
यसबाहेक निकुञ्ज तथा वन क्षेत्रको किनारमा सोलार लाइट र सेन्सर सहितको साइरनसँगै स्थानीयलाई जनचेतना पनि आवश्यक छ । रातिको समयमा सोलार लाइटको उज्यालोले वन्यजन्तु कम ओहोरदोहोर गर्ने र आए पनि भगाउन सजिलो हुने स्थानीय बताउँछन् ।