Highlights
जेरुसलेम/गाजा — प्यालेस्टिनी समूह हमासले गाजा क्षेत्रमा नयाँ युद्धविराम प्रस्ताव अघि सारेको छ । कतारको राजधानी दोहामा शनिबार भएको वार्तापछि हमासले गाजामा ६० दिनका लागि युद्धविरामको प्रस्ताव गर्दै थप बन्धकहरू रिहा गर्न तयार भएको हो ।
इजरायली रक्षा बल (आईडीएफ) ले गाजा क्षेत्रमा जारी आक्रमण निकै बढाएपछि अमेरिका र कतारका मध्यस्थकर्तामार्फत हमासले दोहामा वार्ता सुरु गरेको हो । प्रस्तावमा हमासले ९ बन्धक रिहा गर्ने र त्यसको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरू रिहा गरिनुपर्ने बताएको छ ।
त्यस्तै, हमासले सहायता सामग्री बोकेका ४ सय ट्रकलाई गाजामा दैनिक प्रवेश दिनुपर्ने माग अघि सारेको प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युद्धविराम प्रस्तावमा हमासले गाजामा रहेका बिरामीलाई बाहिर लैजान दिइनुपर्ने प्रस्ताव पनि अघि सारेको छ ।
अर्कोतर्फ, इजरायलले बाँकी सबै बन्धकहरूको ‘प्रुफ अफ लाइफ’ (जीवित रहेको प्रमाण) र विस्तृत जानकारी माग गरेको छ । हमासको नयाँ प्रस्तावबारे इजरायलले सार्वजनिक रूपमा भने प्रतिक्रिया जनाइसकेको छैन । तर वार्ता सुरु हुनुअघि उसले गाजाबाट आफ्नो सेना नहटाउने र युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नलिने स्पष्ट पारेको थियो ।
नयाँ युद्धविराम प्रस्तावमा भने इजरायली सेना फिर्ता वा युद्ध अन्त्यको कुरा भने समावेश नरहेको बीबीसीले उल्लेख गरेको छ । इजरायली रक्षा बल सेनाले चार दिनअघि ‘अपरेसन गिडिओन्स च्यारियट्स’ नामक नयाँ आक्रमण घोषणा गरेको थियो । यो गाजा क्षेत्रमा गरिएको हालसम्मकै सबैभन्दा घातक आक्रमणमध्ये एक हो ।
बिहीबार सुरु उक्त आक्रमणयता गाजा क्षेत्रमा कम्तीमा ३ सय जना मारिएका उद्धारकर्ताहरूले जनाएका छन् । इजरायली आक्रमणका कारण अस्पताल र शरणार्थी शिविरहरूसमेत ध्वस्त भएका सहायता संस्थाका प्रतिनिधिले जनाएका छन् ।
इजरायल र हमासबीचको दुई महिना लामो युद्धविराम १८ मार्चमा टुटेसँगै आईडीएफले गाजा क्षेत्रमा आक्रमण तीव्र पारेको थियो । जसका कारण गाजाको मानवीय अवस्था अत्यन्तै गम्भीर भएको र इजरायलले १० सातादेखि खाद्यान्न तथा अन्य सहायता रोक्दै आएको मानवअधिकार संस्थाहरूले बताएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसअघि गाजाको उत्तरी भागमा कब्जा जमाउने, प्यालेस्टिनी जनसंख्यालाई दक्षिणतर्फ धकेल्ने र हमासलाई ‘ध्वस्त पार्ने’ सैन्य रणनीति घोषणा गरेका थिए । उनको घोषणासँगै उत्तर र पूर्वी क्षेत्रमा बमबारी, ड्रोन हमला, गोलाबारी र विस्फोट जारी रहेको त्यहाँको अवस्था निकै त्रासदीपूर्ण रहेको बीबीसीले उल्लेख गरेको छ ।
नेतान्याहुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पश्चिम एसिया भ्रमणका कारण नयाँ कारबाही केही दिनका लागि पछि सारिएको हो । ट्रम्प साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किइसकेका छन् ।
हमासबाट इजरायली भूमिमा रहेको खतरा नटरेसम्म र बन्धक रिहा नभएसम्म आक्रमण जारी रहने आईडीएफको भनाइ छ । ‘जबसम्म हमासको खतरा रहन्छ र हाम्रा सबै बन्धकहरू घर फर्किंदैनन्, तबसम्म कारबाही रोकिँदैन,’ आईडीएफले भनेको छ । पछिल्ला दिनहरूमा गाजापट्टीका सयौं आतंकवादी लक्ष्यहरूमा प्रहार गरिएको आईडीएफको दाबी छ ।
इजरायली आक्रमण र नाकाबन्दीका कारण गाजा क्षेत्रका अधिकांश स्थानीयले एकछाक पनि खान नपाएका संयुक्त राष्ट्रसंघ तथा अन्य सहायता संस्थाका अधिकारीहरूको भनाइ छ । खाद्यान्न अभावका कारण गाजाका बालबालिकामा कुपोषण तीव्र गतिमा बढिरहेको र २१ लाख जनसंख्या भोकमरीको चपेटामा परेका उनीहरूले चेतावनी दिएका छन् ।
गाजाको पछिल्लो अवस्थाप्रति अमेरिकालगायत देशले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा धेरै मानिस भोकमरीको अवस्थामा रहेको बताएका छन् । त्यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजा विकसित पछिल्लो घटनाक्रमबाट चिन्तित भएको बताएका छन् ।
शनिबारको नयाँ आक्रमणपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज, इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीलगायतले पनि स्थायी युद्धविरामको माग गरेका छन् । जर्मन विदेश मन्त्रालयले भनेको छ, ‘नयाँ आक्रमणले गाजाका जनताका लागि मानवीय संकट झनै भयावह बनाउनेछ ।’
संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुख भोल्कर तुर्कले इजरायलको पछिल्लो आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुन सक्ने चेतावनी दिएका छन् ।