Highlights
काठमाडौँ — दक्षिण एसियाका ठूला देश भारत र पाकिस्तान द्वन्द्वमा छन् । यिनीहरूबीच रक्तरञ्जित सम्बन्धको इतिहास यी दुवै देश जत्तिकै पुरानो छ । साझा इतिहासबाट विभाजन भएका यी दुई मुलुकबीचको सम्बन्ध अविश्वास र प्रतिशोधले भरिएको छ ।
आजको दुनियाँमा भारत, पाकिस्तान र बंगलादेशको नामले चिनिने भूभाग सन् १९४७ अघि एउटै थियो । बेलायती उपनिवेशमा शासित यो क्षेत्र भूगोलको हिसाबले एउटै देश थियो ।
भारत आफैंमा एक रंगीन दुनियाँ थियो, जहाँ थिए प्राचीन मन्दिर र तिनका अगलबगल उभिएका सदियौं पुराना मस्जिद । तिनै मन्दिर र मस्जिदमा पूजा अनि प्रार्थना गर्ने हिन्दु र मुस्लिम तथा तिनको संस्कृति नै ब्रिटिसकालीन भारतको पहिचान थियो ।
बेलायतले जब ‘फुटाऊ र शासन गर’ को नीति अख्तियार गरेर हिन्दु–मुस्लिमको आगो झोसिदियो, त्यसले सन् १९४७ को स्वतन्त्रता संग्रामतिर आइपुग्दा सद्भाव र सहअस्तित्वको पुरानो पहिचान चकनाचुर भयो । दोस्रो विश्वयुद्धले थकित बेलायत उपनिवेश छाडेर भारतबाट फर्कियो । तर स्वतन्त्रता सजिलो थिएन । महात्मा गान्धी र जवाहरलाल नेहरूजस्ता स्वतन्त्रता संग्राम लडेका नेताले नेतृत्व गरेको भारतीय राष्ट्रिय कंग्रेसले एकताको सपना देख्यो । तर मोहम्मद अलि जिन्नाह पक्षधरको मुस्लिम लिगले अलग देशको कल्पना गर्यो ।
त्यस बेला मुस्लिम समुदायले भारतको कुल जनसंख्याको एक चौथाइ हिस्सा ओगट्थ्यो । हिन्दु बाहुल्य मुलुकमा दमन हुने भएकाले छुट्टै देश चाहिन्छ भन्ने मतको अगुवाइ उनै जिन्नाहले गरे । जिन्नाहले सन् १९४० मा हाल पाकिस्तानमा पर्ने लाहोरमा भाषण गर्दा भनेका थिए, ‘मुस्लिमहरू कुनै पनि परिभाषामा राष्ट्र हुन्, उनीहरूसँग आफ्नो मातृभूमि, आफ्नो भूभाग र आफ्नो राज्य हुनुपर्छ ।’
त्यसको सात वर्षमै अर्थात् ३ जुन १९४७ मा बेलायतले घोषणा गर्यो– हिन्दु बाहुल्य क्षेत्र भारत र मुस्लिम बाहुल्य उत्तरपश्चिम र पूर्वी क्षेत्र पाकिस्तान बन्नेछ । त्यसै घोषणाअनुरूप १४ अगस्ट १९४७ मा पाकिस्तान जन्मियो । त्यो दिन जिन्नाहले नयाँ देशको घोषणासभामा भनेका थिए, ‘हामी यो आधारभूत सिद्धान्तबाट सुरु गर्छौं कि हामी सबै एक राज्यका नागरिक हौं, समान नागरिक ।’
भोलिपल्ट भारत स्वतन्त्र भयो । त्यसपछि नेहरूले संसद्मा उद्घोष गरे, ‘मध्यरातको घडीमा, जब विश्व सुत्छ, भारत जीवन र स्वतन्त्रतामा ब्युँझिनेछ ।’ स्वतन्त्रता ? यो त रक्तपात थियो । एउटा रेखाले पञ्जाब र बंगाललाई चिर्यो । हिन्दु र शिखहरूको भारततिर, मुस्लिमहरूको पाकिस्तानतिर भागाभाग भयो । भीडले चक्कु र मशाल बोकेर सहरहरू जलायो । लासले भरिएका रेलहरू भारतबाट पाकिस्तान र पाकिस्तानबाट भारत आए । यस घटनामा मात्रै करिब २० लाखले ज्यान गुमाए, १ करोड ५० लाख विस्थापित भए । यो थियो इतिहासकै ठूलो बलजफ्तीको बसाइँसराइ ।
यही बसाइँसराइको रापताप र कलहले आज पनि दुई देशबीचको सम्बन्धमा कतै न कतै रक्तपातको बीज जीवितै छ । र कश्मीर ? मुस्लिम बाहुल्य तर हिन्दु राजा भएको त्यो राज्यमा आगो सल्कियो । पाकिस्तान समर्थित लडाकुले आक्रमण गरे, राजा हरि सिंहले भारतसँग गठबन्धन गरे । यो नै यी दुई देशबीच अक्टोबर १९४७ देखि १९४९ सम्म भएको पहिलो युद्धको कारण बन्न पुग्यो ।
भारत र पाकिस्तानको अलग्याई केवल बिछोड थिएन, यो त पुस्तौंको दुश्मनीको सुरुवात थियो । यही दुश्मनीका कारण भारत र पाकिस्तानले हालसम्म चार ठूला युद्ध लडिसकेका छन् । जसरी प्रत्येक युद्धले मानिसको जीवनमा रक्तपात र बर्बादी ल्याउँछ, भारत र पाकिस्तानका नागरिकको जीवनमा पनि ल्यायो । आउनुहोस्, यी युद्धबारे चिरफार गरौं ।
सन् १९४७–४८ को कश्मीर युद्ध आपसी अविश्वासको पहिलो प्रकटीकरण थियो । कश्मीरको भाग्यलाई लिएर भारतीय र पाकिस्तानी सेनाले हिमाली चुचुरामा एकअर्काविरुद्ध गोलाबारुद चलाए । नेहरू भारतीय संसद्मा गर्जिए, ‘हाम्रो भूमिमा आक्रमण सहने छैनौं ।’
पाकिस्तानका तत्कालीन प्रधानमन्त्री लियाकत अली खानले रेडियोमा जवाफ फर्काए, ‘कश्मीर पाकिस्तानको घाँटीको नसा हो, हामी यसलाई जीवन दिएर बचाउने छौं ।’
संयुक्त राष्ट्रसंघको मध्यस्थतामा जुलाई १९४९ मा युद्धविराम भयो । र, कश्मीरमा शान्ति कायम राख्न एक नियन्त्रण रेखा अर्थात् ‘लाइन अफ कन्ट्रोल’ (एलओसी) कोरियो । त्यसअनुसार कश्मीरको दुईतिहाइ भूभाग भारतले पायो, पाकिस्तानले बाँकी । विवाद भने ज्युँका त्युँ रह्यो । त्यस युद्धमा करिब ५ हजार मानिसले ज्यान गुमाएका थिए ।
१६ वर्षपछि सन् १९६५ मा भारत र पाकिस्तानबीच युद्ध भयो । यो युद्ध दुवै देशका लागि जोखिमपूर्ण दाउ थियो । पाकिस्तानले कश्मीरमा विद्रोह भड्काउन लडाकु पठायो । जवाफमा भारतीय ट्यांक पञ्जाबमा दौडिए, जेटहरू आकाशमा गर्जिए । नेहरूका उत्तराधिकारी लालबहादुर शास्त्रीले राष्ट्रलाई सम्बोधन गर्दै भने, ‘भारतले गोलीको जवाफ गोलीले नै दिनेछ र हामी विजयी हुनेछौं ।’ उता पाकिस्तानका तत्कालीन राष्ट्रपति अयुब खानले चेतावनी दिए, ‘हाम्रो सेनाले शत्रुको लासलाई कुल्चनेछ र हाम्रो पवित्र माटो जोगाउनेछ ।’
दुवै देशका नेताले युद्ध भड्काउने भाषणबाजी गर्दा हिंसा चर्कियो । एक महिनापछि राष्ट्रसंघको पहलमा युद्धविराम भयो, जति बेला ७ हजार मानिसको ज्यान गइसकेको थियो । युद्धले दुवै देशको अर्थतन्त्र पनि ध्वस्त बनाइसकेको थियो ।
सन् १९७१ को अर्को युद्धले संसार हल्लायो । किनभने त्यसले नयाँ देश जन्मायो– बंगलादेश । बंगलाभाषीका लागि छुट्टै देश हुनुपर्छ भन्नेमा भारत लागिपरेको थियो । त्यसै उपक्रममा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ६ डिसेम्बर १९७१ मा बंगलाभाषीबारे संसद्मा भनेकी थिइन्, ‘पाकिस्तानका जनतासँग हाम्रो कुनै झगडा छैन तर लाखौंको पीडामा हामी चुप बस्न सक्दैनौं ।’
पाकिस्तान र बंगलादेश विभाजनको बीउ भने भारत र पाकिस्तान अलग हुँदा नै रोपिएको थियो । किनभने सन् १९४७ मा पाकिस्तान दुई पखेटा लिएर जन्मिएको थियो– पश्चिम पाकिस्तान (आजको पाकिस्तान) र पूर्वी पाकिस्तान (आजको बंगलादेश) । यिनलाई १ हजार ६ सय किलोमिटर भारतीय भूमिले छुट्याएको थियो । पूर्वी पाकिस्तानमा बंगलाभाषीको बाहुल्य थियो जसलाई पश्चिम पाकिस्तानको भाषा, अर्थतन्त्र र शासनले नियन्त्रणमा राखेको थियो ।
आफूहरू मुस्लिमै भए पनि अलग भाषा र भूमिमा रहेकाले अलग देश र अलग पहिचानको भागीदार भएको बंगलाभाषीको दाबी थियो । त्यो सन् १९७० मा ज्यादा मुखरित भयो । शेख मुजिबुर रहमानको अवामी लिगले बंगलादेशमा चुनाव जित्यो तर उनलाई सत्ता दिइएन ।
२५ मार्च १९७१ मा पाकिस्तानी सेनाले ‘अपरेसन सर्चलाइट’ सुरु गरी बंगलाभाषीमाथि हिंसा गर्यो । यसमा ३० लाख बंगलाभाषी मारिए, १ करोड नागरिक भारततिर शरणार्थी बने । मुजिबुरले गिरफ्तारीअघि सन्देश दिए, ‘यो मेरो अन्तिम सन्देश हुन सक्छ । आजदेखि बंगलादेश स्वतन्त्र छ । म जनतालाई आह्वान गर्छु– हमलाको प्रतिरोध गर्नुहोस् ।’
भारतकी इन्दिरा गान्धीले मौका देखिन् । उनले बंगाली विद्रोही मुक्ति बाहिनीलाई तालिम दिइन् । ३ डिसेम्बर १९७१ मा पाकिस्तानले भारतीय हवाई अखडामा बम खसाल्यो । गान्धीले देशवासीका नाममा एक सन्देश दिइन्, ‘यो युद्ध हामीमाथि थोपरिएको छ तर यो न्यायको लडाइँ पनि हो ।’ पाकिस्तानी राष्ट्रपति जनरल याह्या खानले जवाफ फर्काए, ‘हामी अन्तिम मानिस बाँचेसम्म लड्ने छौं ।’
युद्धकै बीच झन्डै ९० हजार पाकिस्तानी सैनिकले भारतसमक्ष आत्मसमर्पण गरे । यो पाकिस्तानका लागि ठूलो झट्का सावित भयो । अन्ततः १६ डिसेम्बर १९७१ मा बंगलादेश जन्मियो । पाकिस्तान टुक्रिएपछि दक्षिण एसियाको नक्सा बदलिदियो । नयाँ मुलुक बंगलादेशले भारतको मित्र बनेर पाकिस्तानलाई निरन्तर झट्का दिइरह्यो । भारत दक्षिण एसियाको शक्तिशाली बाघ बन्यो । तर त्यस युद्धले पाकिस्तानको रिसलाई परमाणु दौडतिर धकेल्यो ।
भारत र पाकिस्तानबीच सन् १९९९ मा कारगिल युद्ध भयो । यसले पूरा विश्वलाई नै त्रासमा पार्यो । पाकिस्तानी लडाकुले भारतको कारगिलका डाँडा कब्जा गरे । भारतले आगो ओकल्यो र आफ्नो भूभाग फिर्ता लियो । तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले देशवासीलाई भने, ‘हामी झुक्दैनौं, हाम्रा सेनाले घुसपैठियालाई खेद्ने छन् ।’
उता, पाकिस्तानका सेनाध्यक्ष परवेज मुसर्रफले दाबी गरे, ‘हाम्रा लडाकु कश्मीरको अधिकारका लागि लडिरहेका छन् ।’ कारगिल युद्धमा करिब एक हजार सैनिक मरे । त्यसको अघिल्लो वर्ष सन् १९९८ मा दुवै मुलुकले परमाणु परीक्षण गरेका थिए । युद्धमा घातक हतियारको प्रयोग हुने खतराको छाया गहिरो थियो ।
एकपछि अर्को गरी भएको युद्धले दुई देशबीचको दुश्मनीको ज्वाला झनै तीव्र बनायो । दुवै देशले अर्बौं रुपैयाँ रक्षा क्षेत्रमा खर्च गर्छन् । पाकिस्तानले कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशत र भारतले २.५ प्रतिशत रक्षामा खर्च गर्छ । जबकि, दुवै देशका स्कुल र अस्पतालमा ठूलो सुधारको खाँचो छ ।
१९७१ पछि ठूलो युद्ध भएन तर आगो कहिल्यै निभेन । १९९९ को कारगिल युद्ध ठूलो खतराको नजिक थियो । त्यसपछि पनि ‘एलओसी’ मा साना लडाइँ नियमितजसो भइरहेका छन् । सन् २००१ मा भारतको संसद्मा आतंकवादी आक्रमण भयो । पाकिस्तानस्थित समूहहरूमाथि त्यसको दोष लगाउँदै तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले चेतावनी दिएका थिए, ‘यो आतंकवादविरुद्धको लडाइँ हो, हामी यसलाई जरैदेखि उखेल्छौं ।’ त्यसबेला पनि युद्ध भड्किनै लागेको थियो । दुवै देशका लाखौं सैनिक सीमामा तैनाथ भए तर कुशल कूटनीतिले युद्ध टार्यो ।
सन् २०१९ मा कश्मीरको पुलवामामा आत्मघाती बम विस्फोट हुँदा ४० भारतीय सैनिकको ज्यान गयो । त्यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिक्रिया थियो, ‘हाम्रा सहिदको रगत खेर जाँदैन ।’
भारतले पाकिस्तानको बालाकोटस्थित आतंकवादी शिविर भनिएको ठाउँमा हवाई हमला गर्यो । पाकिस्तानले भारतीय जेट खसाल्यो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले टेलिभिजनमा भनेका थिए, ‘हामी गलत हिसाबबाट बचौं, शान्तिको बाटो खोजौं ।’ उनको यो संयमित अभिव्यक्तिले युद्धको त्रास घटायो तर ज्यादै मुस्किलले ।
गत २२ अप्रिलमा कश्मीरको पहलगाममा आतंकवादी हमला भयो, जसमा २५ भारतीय र एक नेपाली पर्यटकले ज्यान गुमाए । त्यसपछि भारतका प्रधानमन्त्री मोदीले संसद्मा भनेका थिए, ‘हामी यी आतंकवादीलाई पृथ्वीको कुनै पनि कुनाबाट खेद्छौं ।’
पहलगाम घटनाको दुई सातापछि बुधबार बिहान भारतले ‘अपरेसन सिन्दूर’ सुरु गर्दै पाकिस्तानमाथि हमला गर्यो । मध्यरातमा कश्मीरी इलाकामा भारतीय मिसाइल खसेपछि पाकिस्तानले प्रतिक्रिया दियो, ‘यो युद्धको कार्य हो र पाकिस्तान झुक्दैन ।’
पाकिस्तानले जवाफी मिसाइल हानेपछि यी दुई देश फेरि युद्धको मोर्चामा आमने–सामने भएका छन् । अहिले ‘एलओसी’ युद्ध क्षेत्र बनेको छ, जहाँ तोपहरू गर्जन्छन् र सैनिकहरू एकअर्कालाई तर्साउने गरी परेड खेल्छन् । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले बीबीसीसँग भनेका छन्, ‘हामीले अहिलेसम्म केही गरेका छैनौं । जब पाकिस्तानले आक्रमण गर्नेछ, सबैलाई थाहा हुनेछ ।’
यहीबीचमा भारतले सिन्धु जल सन्धि खारेज गरेर पाकिस्तानको पानीको ‘लाइफलाइन’ बन्द गरिदियो । सिन्धु सन्धिको खारेजी पाकिस्तानको मुटुमा बन्चरो हो किनभने त्यसबाट जाने पानी त्यहाँको खेतीको प्राण हो ।
भारतका प्रधानमन्त्री मोदीमाथि हिन्दु राष्ट्रवादीको दबाब छ– रगतको बदला रगतले लिन । उता कमजोर अर्थतन्त्र र अस्थिरताका बीच पाकिस्तानको सेनालाई भारतविरोधी नारामा एकता खोज्न बाध्य बनाउँछ भन्ने एक थरीको विश्लेषण छ भने अर्का थरीचाहिँ चिनियाँ सहयोगले ऊ भारतमाथि जाइलाग्छ भन्ने विश्वास गर्छन् ।
दुवैसँग परमाणु हतियार भएकाले मामिला भड्कियो भने ठूलो त्रासदी निम्तने खतरा छ । कमजोर परम्परागत सेनासहितको पाकिस्तानले परमाणु कार्ड खेल्न सक्छ । यता युद्धले भारतको विश्व व्यापार ध्वस्त पार्न सक्छ । अमेरिका र चीनले यस्तो बेला भारत र पाकिस्तानको साथ लिएर छद्म युद्ध लड्न सक्ने खतरा पनि यहाँ छ । यी दुई देशबीच हाल कुनै कूटनीतिक सम्पर्क भइरहेको देखिँदैन । दुवैतिर तुफानी आक्रोश छ । र, दुईमध्ये एउटाको सानो गल्तीले ठूलो विनाश निम्त्याउन सक्छ ।
के उनीहरू युद्धको मोर्चाबाट फर्किन्छन् ? इतिहास हेर्दा के देखिन्छ भने– २००१ र २०१९ को संकट कूटनीतिक कौशलले टरेको थियो । अहिले पनि टर्न सक्छ । त्यसका लागि सिन्धु सन्धि पुनःस्थापना पहिलो कदम हुन सक्छ । तर, यो हुन चमत्कार चाहिन्छ ।
भारत र पाकिस्तान दुवैको एउटै साझा जरा छ । त्यसमाथि पलाएको अटल घृणाले यतिखेर सन्त्रास फैलाएको छ । व्यापार, वार्ता वा समझदारीले यो आगो निभाएन भने सबैको सरोकार बनेको दक्षिण एसियाको शान्ति झन् बढी खलबलिन बेर छैन । भारत र पाकिस्तानबीच सानतिना झडप भइरहन्छन् र बेला मौकामा तिनले वैरभावको ठूलै आगो झोसिदिन्छन् । अहिले भएको त्यही हो ।
भारत पाकिस्तानलाई आतंकवादको अखडा भन्छ । पाकिस्तान भारतले कश्मीरका मुस्लिमलाई दबाएको आरोप लगाउँछ । खासगरी सन् २०१९ मा कश्मीरको स्वायत्तता खोसिएपछि यो आरोप बढी सुनिने गरेको छ । कश्मीरमा हालसम्म हजारौं सैनिक, नागरिक मारिएका छन् । अर्थतन्त्र रक्तस्रावमा छ । र, परमाणु खतराको एकदमै जोखिम छ । अध्ययनहरू भन्छन्– भारत–पाकिस्तान युद्धले ५ करोड मानिस मार्न सक्छ, विश्वभर भोकमरी निम्त्याउन सक्छ । यो केवल क्षेत्रीय झगडा होइन, विश्वको बारुद हो ।
द्वन्द्वको समय रेखा
१९४७–१९४९ : विभाजन र पहिलो कश्मीर युद्ध
१९४९ : कश्मीर दुई देशबीच विभाजित र युद्धविराम
१९६५ : दोस्रो कश्मीर युद्ध
१९७१ : पूर्वी पाकिस्तान स्वतन्त्र भई बंगलादेशको स्थापना
१९९९ : कारगिल युद्धमा १,००० भन्दा बढी सैनिकको मृत्यु
२००१ : भारतको संसद्मा आतंकवादी समूहको आक्रमण
२०१९ : कश्मीरको पुलवामामा आतंकवादीको आत्मघाती हमला
२०२५ : कश्मीरको पहलगाममा आतंकवादी हमला, २६ को मृत्यु
२०२५ : भारतद्वारा पाकिस्तान नियन्त्रित कश्मीरमा हमला, दुवै देशबीच द्वन्द्व सुरु