फोर आइज न्युज
शनिबार, चैत्र २२, २०८१
  • होमपेज
  • बुढेसकालको संघर्षपुर्ण जीवन

बुढेसकालको संघर्षपुर्ण जीवन

बुढेसकालको संघर्षपुर्ण जीवन

निमेष पौडेल बा-आमाले यो भजन गाउँदा मन कति हलुका हुन्छ, मानिसको जीवन भागेर जाउँ, कहाँ जाउँ ? मानिस नमर्ने सहर हुँदैन । मान्छे नमर्ने समय हुँदैन ।”
मानिसको जीवन जन्मदा देखिनै संघर्षपुर्ण रहने गर्छ । मानिस भएर जन्म लिदा यस धर्तीमा पाइला टेकेको समय, जन्मदाको पिडा कसैले सम्झन पनि सक्दैनौं । मानिसको आफ्नो जीवनको अन्त्य चाँही कसरी र कहिले हुने हो ? चाहेर थाहा हुने होइन, त्यसैले उ त्यो समय मृत्यु देखी टाढा भाग्न खोज्दछ, मृत्युले उसलाई भेटाउन नसकोस् भनेर ।
यो संसारमा जन्मदा कस्ले के नै लिएर आएका थियौं ? र, मरेर जाँदा संसार नै लिएर जान पाउने होइन ।
हामीले धेरै कुरा आफ्नो निम्ति र बाँच्नको लागी गरेका हुन्छौं । समाज र देशको लागी के गर्यौ ? जवानीमा फुर्सद हुँदैन, वास्ता गर्दैनौँ, बुढेसकालमा गर्ने शक्ति हुँदैन । यो संसारमा सुख दुख भोगेर एक दिन जीवनको अन्त्य हुनेछ तब मात्र मानिसको जीवनमा थोरै कुरा मनन् योग्य हुन्छन् । संसारका सबै मानिसको जीवन पद्धति मृत्यु र जीवन शैली एउटै हुँदैन । कोहीको कस्तो, कोहीको कस्तो, आफ्नो आफ्नो धर्म संस्कृति, रिती रिवाज, सामाजिक परिवेश अनुसार फरक हुन्छ । मानिसको मृत्यु पछि के हुन्छ ? अनेकौ किंम्बदन्ती र बिश्वासहरु गरिन्छ तर पनि निश्चित भरपर्दो कुनै ग्यारेन्टीको प्रमाण छैन ।
महात्मा जोगीहरु आफ्नो मूत्यु पछि मुक्ति भन्दछन् तर पनि देह त्याग गर्न कति गाह्रो हुने रहेछ । बुढेसकालमा कसैलाई दुख नदिई थला नपरी क्षणिक व्यथा, एक दुई दिनको पिडाबाट मुक्त भई संसारबाट बिदा भए अहो कस्तो भाग्यमानी भन्दछन् । कस्को मरण कस्तो हुनेछ, सबैले आ-आफ्नो भाग्य बोकेर आएका हुन्छन् । कोही गरिबीले सिटामोल खान नपाएर तडपिएर मर्दछ । कोही देश विदेशका अत्याधुनिक स्वास्थ सेवा उपयोग गरेर पनि बाँच्न सक्दैनन् । गरिब देशका गरिब नागरिक आज स्वास्थ क्षेत्रमा पनि सरल र सहज जिन्दगी जिउन पाएका छैनन् । राष्ट्रले नागरिकहरूबाट कुनै न कुनै तरिकाबाट कर उठाई रहेका छन् । आफ्नो जिवनकालमा तिरेको कर सरकारले सही सदुपयोग गर्नु पर्दछ तर, सरकारले खर्चको व्यवस्थापन मिलाउन सकेको देखिँदैन । अतः वृद्ध नागरिकहरूले अहिले पनि कष्टकर जीवन बिताउनु परेको छ । नेपालमा सस्तो मिसावट, गुणस्तर हीन, खाद्यान्न, वातावरण प्रदूषण र औषधी उपचारको अभावमा वृद्ध नागरिकहरू चाँडै नै रोगको सिकार भएका छन् ।
बुढाबुढीहरु घर कुर्ने र आफ्नो काम आफै गरेर खनीखोस्री जेनतेनले काललाई पर्खी बाँचेका हुन्छन् । बुढेसकालको धेरैको एक्लो जीवन उराठ लाग्दो र पिडादायक हुन्छ । बुढेसकालमा वृद्धहरूले दुख धेरै कारणले पाउँने गर्छन । राज्यबाट होस या आफ्नै कर्मबाट या, आफ्नै सन्तानबाट तर हरेक वृद्धले बुढेसकालमा दुख पाउँने गर्छ्न ।
त्यस्तै केही वृद्धहरूसँगको उराठ लाग्दो कुराकानी र, उनिहरूले भनेका आफनो जीवनीलाइ यस् लेखमा प्रस्तुत् गरिएको छ:
 
१. वृद्ध बलिराम बानियाको पिडा :-
यो कहानी नवलपरासीको हो । बलिराम बानियालाई सबैले बलीराम सर भन्छन् । उनले पढाएका र स्याहार गरेका धेरै विद्यार्थी डाक्टर, इन्जिनियर र कुशल प्रशासक बने, विदेशीएर राम्रो कमाइ गरे, सोही विद्यालयमा शिक्षक समेत बने । उनी भने सोही विद्यालयमा सेवा गरीरहेका छन् ।
धेरैले उनले हासेर पढाएको मात्रै देखे । हर्षकै साथ विद्यालयमा काम गरेको मात्रै देखे । हुन पनि उनले मुहारमा मुस्कानको बत्ति कहिल्यै निभ्न दिएनन् । तर उनको मुटु भित्रको पिडा भने कसैले देखेन ।
बलीराम विद्यालयमा सवैको प्रिय पात्र बनीरहे । शिक्षक, अभिभावक र विद्यार्थी सवैको आँखाको नानी बनीरहे । विद्यालयमा कार्यालय सहयोगी बनेर प्रवेश गरेको भएता पनि उनले स-साना विद्यार्थीहरुलाई समेत पढाउदै आइरहेका छन् ।
बलीराम भन्छन्, ‘अझैपनि केजी र एक कक्षामा २/३ पिरीयड लिइनै राखेको छु ।’
विद्यालयमा हाल केही पुराना भवन, आडमा रहेको सरस्वतीको मन्दिर, पुरानो पानीखाने ट्यांकी, पछाडीका बकाइनाका रुखहरु बलीरामका पीडा र उनले दैनिक घन्टि लगाउने गरेको फलामको रीङ बाहेक सबैकुरा परिवर्तन भइसकेका छन् ।
उनले आफ्नो वैंश नै विद्यालयमा सेवा गरेर विताए । ३५ वर्षमा विद्यालय प्रवेश गरेका उनको उमेर ५७ वर्ष कटीसकेको छ । २२ वर्ष सेवा गरेका उनको तलव बल्ल यस वर्षदेखि ५ हजार पुगेको छ । ५ सय बाट सेवा सुरु गरेका उनलाई २/४ वर्षमा १/२ सयका दरले बढाउदै विद्यालयले हाल पाँच हजार बनाइदिएको छ ।
उनले आफ्नो विगत खोतले, उनी भन्छन् -‘मैले मेरो मर्का बुझिदेलान, एक दिन बढाइदेलान भन्दै केही भनिन् । तर त्यो दिन कहिल्यै आएन । खाली आश्वासन दिनेमात्रै काम भयो ।’
‘परिवारले अर्कै जागिर खान वेलावेलामा आग्रह गर्ने गरेको भएपनि नछोड बढाइदिन्छम भन्ने आश्वासन दिएपछि जागिरलाई निरन्तरता दिएँ’ उनले भने ।
‘६ जना छोरी र तिन जना छोरा र श्रीमान श्रीमती गरेर ११ जनाको ठूलो परिवार थोरै तलव आम्दानीको अन्य स्रोत नहुदा हिजोका दिनहरु एकैदमै पीडादायी रहे’ उनले रुन्चे अनुहार बनाएर भने । एकदिन स्थायी भइएला, पेन्सन पाइएला भनेर सहेर बसीयो बुढेशकालमा खालीहात लाग्ने भो, रुन्चे हाँसो हास्न खोज्दै उनले भने ।
सायद अहिलेको अवस्था आउला भन्ने त्यतिबेला अनुमान भएको भए विद्यालयमा जागिर खान्न’थे होला, भावुक हुँदै उनले भने । ‘सबैले एकदिन राम्रो हुन्छ भनेकाले विद्यालयमा नै जागिर खाँए बुढेसकालमा जोगी बनाउने पो रैछ ’ । उनी भक्कानिए ।
‘त्यति वेला शरीरमा बल थियो । कामका धेरै अवशरहरु थिए । तर पनि यि साना केटाकेटीहरु सितै भुल्न मन लाग्यो । कलिला विद्यार्थीहरुलाइृ सिकाउदा सवै पिडाहरु भुल्थे ।’ बलिराम सरले लामो सुस्केरा काटे ।
‘जतिले भेटे केही गर्ने आश्वासन मात्रै दिए । तर मेरो लागि कसैले केही गरेन ।’ उनकोले रुन्चे श्वरमा पीडा पोखे । ‘सरकारी मान्छे, दलका नेताहरु, अभिभावक र प्रधानाध्यापकहरु सवैले गर्छु भने केहीगरेनन् । सरकारले पनि नयाँ नियम ल्याएको छरे भनेको सुन्छु । सक्दाजेल त विद्यालयको लागि गरियो तर अन्यमा अशक्त भएपछि खालीहात विदा हुनुपर्नेभो ।’ बुढेसकालमा खालीहात । म जस्तै अनिश्चित भविष्य तर्फ ।
विद्यालयकै सेवा गर्दै र विद्यार्थी पढाएरै आफ्ना वैंस सिध्याएका उनको बुढेसकालमा भने खालीहात बिदा हुन प¥यो । ‘मैले पढाएका, सिँगान पुछेका, माया गरेका धेरै विद्यार्थी योग्य डाक्टर, इन्जिनियर र कुशल प्रशासक बने म बुढा भने सधैँको अस्थायी र दुखी रहिरहँे ।’ उनले पिडा मिश्रित हाँसो हाँस्न खोजे । तर उनकोको मुहारमा हाँसो कत्ति सुहाएन । लाग्थ्यो बरु उनी रोएको भए वेस हुन्थ्यो ।
‘मैलै जीवन नै अरुको सेवामा अर्पै बुढेसकालमा मेरो पीडा बुझिदिने कोही भएन । कम तलव भएपनि पछि विद्यालयले विचार गरेर एकमुष्ठ सुविधा दिने आश्वासनहरु मात्रै आए ।’ उनले खुलासा गरे । ‘मेरा पिडा, असाहायता र मजवुरीसँग खेल्ने काम मात्रै भयो ।’ आँखा आँशुले लछप्पै भए ।
विद्यालयमा चार जना प्रधानाध्याकहरु फेरीए तर उनको दिन र पीडा फेरीएन । उनलाई पे्रम बहादुर बस्नेत, मनिराम धरेल, तुलसी प्रसाद भट्ट, शेर बहादुर घर्तीलगायत सवैले आश्वासन मात्रै दिए । सवैले कुरा गरे काम गरेनन् । यसोभन्दा उनकोको आँखाको रंग र डुब्न लागेको सूर्यको रंग एकै देखियो ।
 
२. वृद्ध ऐतमाया मग्रातिको पिडा:-
यो कहानी धनकुटा नगरपालिका ४ स्कूल डाँडाकी ऐतमाया मग्रातिको हो । उनको ७० बर्षको उमेरमा समेत नागरिकता बन्न सकेको छैन ।
नागरिकता बनाइदिन सनाखत गर्ने आफन्त कोही बाँकी नरहँदा उनको नागरिकता बन्न नसकेको हो । सबै आफन्त गुमाएकी ऐतमाया नागरिकता नबनेकै कारण बुढेसकालमा राज्यबाट पाउने सबै सेवा सुबिधाबाट बञ्चित बनेकी छन् ।
सात बर्षको उमेरमै बिवाह भएको उनी श्रीमानले अर्को बिवाह गरेपछि माईतमै बस्दै आएकी छिन् । आफन्त रहुञ्जेलसम्म नागरिकता अवश्यक नपरे तर नागरिकता चाहिँने बेलामा सनाखत गरिदिने कोही नरहेको दुखेसो उनले पोखिन् ।
उच्च रक्तचाप र दमको समस्याबाट पीडित उनलाई औषधी त परैको कुरा दैनिक छाक टार्न समेत समस्या परेको छ । नागरिकता बने सामाजिक सुरक्षा भत्ताबाट केही सहज हुने उनले बताइन् ।
पटक पटक बिभिन्न ठाउँमा उनका बारेमा कुरा राखेपनि कसैले चासो नदिएको छिमेकीहरुले जनाएका छन् । माइतमा एक्लै रहेकी उनी छिमेकीले दयाले दिएकोबाट आफ्नो एक छाक खानाबाट दैनिकी चलाउँदै आएकी छन् ।
 
३. हिमाल आरोही रामबहादुर परियारको पिडा:-
यो सिम्पानीका रामबहादुर परियारको कहानी हो । दर्जनौ पटक हिमाल चढीसकेका सिम्पानीका रामबहादुर परियार हाल भने वेसहारा बनेका छन् । विदेशीको भारी बोकेर धेरै पटक हिमालपारी पुगेका उनी जब उनको खुट्टा हिउँले खायो र अहिले दुई पटक गरी अपरेसन गरेर घुँडाभन्दा मुनिका भाग नै काटियो तव उनी वेसहारा बनेका छन् ।
‘अहिले उहाँको शरीरमा शक्ति छैन, सहारा दिने पनि कोही छैनन्’ ५५ वर्षीया परियारले भने ‘भरिया बनेको बेला हिउँमा डुबेको खुट्टाले अहिले पीडा दिएको छ ।’
‘भारी बोकेर हलो जोतेर जवानी गयो, चार वर्षअघि हिँउले खुट्टा खाएर सानो घाउ भएको थियो, यति धेरै दुःख पाइएला भन्ने लागेको थिएन,’ रामबहादुरले भने ।
“बल छँदै मजदुरी गरेर कमाएको धनले बुढेसकालमा आराम गरौँला भन्ने सोचेको थिएँ, तर अकल्पनीय दुःख पाएँ”, आँखाभरि आँसु पार्दै परियारले भने ।
परियारको दाँहिने गोडाको घुँडाभन्दा केही तल सामान्य घाउ भयो, उहाँले सामान्य घाउ भनेर केही वास्ता गर्नु भएन । घाउ निको भएन, तर झन् ठूलो भयो । अन्ततः अस्पताल आउन बाध्य हुनुभयो । चिकित्सकले शल्यक्रिया गरेर खुट्टा नै काटिदिए । बैसाखीको सहारामा हिँड्दै उनीको परिवारमा कोही छैनन् । आमाबुबा गुमाई सक्नुभएका परियार अविवाहित छन् ।
‘एक्लै बस्छु, बिहे पनि गरेको छैन, दुःख बिमार पर्दा आपत् पर्दोरहेछ’, उनी भन्छन् ।
जीविकोपार्जनका निम्ती ज्याला र मजदुरीमा व्यस्त बनेका उनीले आफ्नो घाउलाई राम्रो स्याहार गर्न पनि सकेनन् । शल्यक्रिया गरिएको घाउमा सरसफाइ र पोषण नपुगेपछि निको हुनुको सट्टा घाउ झन् ठूलो भयो । उनको वोन क्यान्सर भएको रहेछ ।
‘खानामा पोषण नपुगेर घाउमा सुधार नभएको हो,’ अस्पतालका चिकित्सक डा प्रकाश साहुले भने, “अहिले फेरि शल्यक्रिया गरिएको छ, अस्पतालकै निगरानीमा राखेर पोषणयुक्त खाना खुवाउँदै आएका छौँ ।”
गरिबीका कारण उपचार खर्चसमेत नभएका परियारलाई उपचार अवधिभर अस्पतालले नै खानाको व्यवस्था गरिदिएको छ । परियारको उपचारका लागि पहिलोचोटि करिब दुई लाख रुपैयाँ लागेको थियो । दोस्रोपटकको उपचारमा पनि डेढ लाखभन्दा बढी लागेको छ । अस्पतालले हाल उनलाई निःशुल्क उपचार गराइरहेको छ ।
घाउ सफा गर्नको निम्ति दैनिक अस्पताल आउने गरी परियारलाई अस्पतालबाट बाहिर राखिएको छ । आफन्तको डेरामा बस्दै आएका परियार आफ्नो नाममा सानो टुक्रा जमिन र एउटा झुप्रो भए पनि खुट्टाका कारण काम गर्न नसक्ने उनी बताउँछन् ।
काम गर्ने आफ्नो बल र सहयोगी कोही नहुँदा आफू बिचल्लीमा परेको उनी बताउँछन् । “उमेर र बल छँदा अरूको निम्ति काम गरियो, अहिले आफू बेसहारा भएर बाँच्नु परेको छ, जिन्दगीमा निकै पीडा हुने रहेछ” परियारले भने ।
 
३. दम्पतीका पिडा:-
हरेक आमा–बावुमा बुढेसकालमा आफ्ना सन्तानबाट साहारा पाउने अपेक्षा हुन्छ नै । दशधारा दुध चुसाएर अनेक दुख कष्ट गर्दै हुर्काएका छोरा-छोरी भविष्यमा राम्रो बनुन र आफ्नो परिवारको भलाई होस भन्ने रहर कस्लाई पो हुन्न र ? तर समय र भाग्यको खेल यति सजिलो छैन । जीवन जिउन जति जीवनमा कल्पना गरिन्छ, त्यो भन्दा गाह्रो छ यसलाइ जिउन ।
यस्तै पिडा खेपिरहेका छन् म्याग्दीको राम्चे –४ का एक दम्पतीले । चार सन्तानका दम्पती पनि अहिले बुढेसकालमा साहरा नपाउने चिन्तामा छन् । ५४ बर्षिय लोक वहादुर पुर्जा र उनकी श्रीमती निल कुमारी पुर्जाका तिन छोरीहरु अहिले विवाह भएर पराई घर गईसकेका छन् । घरमा भएका एक्ला र जेठा छोरा दिपक समेत अपांग भएपछी अहिले पुर्जा दम्पती चिन्तामा छन् ।
छोरीहरुको विवाह भएर गए । घरमा भएको छोरा अपांग छ । दिपककी आमा निल कुमारीले भन्छिन– ‘बुढेसकालमा आफ्नो साहरा र छोराको स्याहारको चिन्ता लाग्न थालेको छ । पहिले त छोरीहरु पनि घरमै थिए । छोरा अपांग भएपनि सबैको स्याहार थियो, अहिले छोराको स्याहार गर्ने कोही छैनन् ।’
अहिले ३३ बर्ष भएका दिपकमा जन्मेको दुई बर्षपछी नै शारिरीक तथा बौद्धिक समस्या देखीएको थियो । उनको कम्मर देखी तलको शरिरले राम्रो संग काम गर्दैन भने राम्रो संग बोल्न समेत सक्दैनन् । जन्मेको दुई बर्षसम्म छोराको शारिरीक बनावट राम्रै भएपनि त्यसपछी भने विस्तारै एक पछी अर्को गर्दै शरिरका विभिन्न अङ्गहरुले काम गर्न छाडेको आमा निल कुमार बताउँछीन् ।
दिपकको अहिले दाईने हातले समेत राम्रो संग काम गर्दैन् । दिसापिसाब समेत उनका बुवा आमाले तर्काउनुपर्ने अवस्था छ । हात र खुट्टा सवै टेकेर सामान्य रुपमा आवत जावत गर्न सक्ने भएपनी उनले अरु केही गर्न सक्दैनन् । शारिरीक, स्वरबोलाई र बौद्धिक गरि बहु अपांगता भएका दिपक खुट्टामा लगाउने जुता तथा बुटहरुलाई हातको पञ्जामा लगाएर घुँडा टेकेर सामान्य रुपमा हिँड्ने गर्छन् ।
घरपरिवारको आर्थिक अवस्था समेत कमजोर भएका पुर्जा दम्पती एक्लो छोरा समेत अपांगता भएपछी अहिले कष्टकर जिवन विताईरहेका छन् । दिपकका बुवा लोक वहादुर पुर्जा भन्छन, “घरमा एक्लै छोड्न नहुने, स्याहार गर्न घरमै बस्यो भने घरको अरु काम नहुने समस्या छ ।”
अपांगता भएका व्यक्तिले राज्यबाट सेवा सुविधा पाउँछन भन्ने समेत जानकारी नभएको कारण अहिलेसम्म अपांग परिचय पत्र समेत नपाएका दिपकलाई केही महिना अगाडी मात्रै गाविस सचिव शालिकराम सापकोटा आफै जमानी बसेर महिला तथा बालबालिका कार्यालयबाट ‘क’ बर्गको परिचय पत्र उपलब्ध गराउनुभएको छ । केही बर्षदेखी सामान्य रुपमा गाविसबाट तिन सय रुपैयाँ भक्ता पाउँदै आएका दिपकले अव भने मासिक १ हजार रुपैयाँ भक्ता पाउने सचिव सापकोटाले आश्वासन दिनुभयो ।
दिपकले पाउने भत्ता रकम समेत बुवा आमाले अन्यत्रै खर्च गरेका छैनन् । दिपकको भविस्यको लागी भन्दै उनकी आमाले मासिक ३ सय रुपैयाँको ढुकुटी खेलेकी छन् । छोराको ९ हजार रुपैयाँ ढिकुटीबाटै जम्मा भईसकेको उनले बताईन् । टाढाबाठा त राम्रै दिन काट्लान हाम्रो छोराको हामी नभएपछी कस्ले स्याहार गर्छ भन्ने चिन्ता उनीमा छ ।
छोराकै मायाँ र ममताले गर्दा घरबाट समेत कहिँ कतै रमाईलोमा जान नपाउने र मन पनि नलाग्ने पुर्जा दम्पती बताउँछन् । श्रीमतीले अर्को विवाह गर्न सल्लाह दिँदा समेत विवाह नगरी बसेका दिपकका बुवाले अपांगता भएका व्यक्तिहरुलाई राज्यले दिने सहयोगको बारेमा कुनै जानकारी नभएको बताउँछन् ।
खेतीपाती गरि जिविकोपार्जन गर्दै आएका पुर्जा दम्पती आफ्नो कमाई खाने जग्गा समते नहुँदा अदियाँ लगायर गुजारा चलाएका छन् । हाम्रो खेती गर्ने जग्गा नै छैन्, निल कुमारी भन्छिन, “अरुको खेतबारी कमाएर खाने गरेका छौं ।”
 
यसरी दुर्गम बस्तीमा रहेका अपांगता भएका वृद्धहरूको र परिवारका सदस्यहरुको अवस्था कष्टपुर्ण बनीरहेको छ । राज्यका निकायहरुको ध्यान दुर्गमबस्ती सम्म पुग्न नसक्दा अहिले जिल्लाको दुरदराजमा भएका वृद्धहरू र परिवारले राज्यको सेवा सुविधाबाट बन्चित बनिरहेका छन् । यस्मा सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको छ । किनकि, वृद्धहरू भनेका भगवान हुन । र, एउटा ठुलो कथन छ- ‘मानिसको आयु बढ्नुको कारणले मानिस वृद्ध हुने होइन बरु जब मानिसको मानिसिक विकास अवरुद्ध हुन्छ तब उ वृद्ध हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका