फोर आइज न्युज
बिहिबार, जेष्ठ १६, २०८२
  • होमपेज
  • विवादित जगदुल्लाको आशयपत्र जारी

विवादित जगदुल्लाको आशयपत्र जारी

  • Arjun Rai
  • बुधबार, जेष्ठ १५, २०८२
विवादित जगदुल्लाको आशयपत्र जारी

काठमाडौँ — जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले सिभिल र हाइड्रो मेकानिकलअन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी) तर्फ आह्वान गरेको ठेक्काको आशयपत्र जारी गरेको छ । आर्थिक प्रस्तावमा कररहित १२ अर्ब १५ करोड रुपैयाँ कबोल गरेको जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी योग्य रहेको भन्दै कम्पनीले मंगलबार आशयपत्र जारी गरेको हो ।

चित्त नबुझेको खण्डमा आशयपत्रमाथि सिनो हाइड्रो कर्पोरेसनले १५ दिनभित्र सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले बताए । ‘आशयपत्रमाथि कुनै उजुरी आएन भने जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभीलाई १५ दिनभित्र सम्झौता गर्न आऊ भनेर पत्र काट्नुपर्छ,’ उनले भने । कम्पनीले तोकेको धरौटी, बैंक ग्यारेन्टीलगायत प्रक्रिया पुर्‍याएर सम्झौता गरेपछि मात्रै ठेक्का पाउने सापकोटाले जनाए ।

चीनको हेझाउ साङ्चेङ इलेक्ट्रिक पावर कम्पनीले साङ्चेङ जलविद्युत् आयोजना सकिएको पुष्टि गर्ने कुनै पनि प्रमाणपत्र जारी नगरेको र आफ्नो कम्पनीको नाम अनधिकृत प्रयोग गरेको भन्दै यही जेठ ७ मा ‘इमेल’ मार्फत जगदुल्ला कम्पनीलाई जानकारी गराएको छ ।

९० मेगावाटको साङ्चेङ जलविद्युत् आयोजना बनाउने भनिए पनि आर्थिक कारणले रद्द भएको र निर्माण नभएको इमेलमा उल्लेख छ । ‘साङ्चेङ इलेक्ट्रिक पावर कम्पनी’ वा ‘साङ्चेङ जलविद्युत् स्टेसन’ को नाम वा झूटो दाबी गरी सम्झौता गर्ने वा फन्ड लिने काम गरिन्छ भने हाम्रो कम्पनी त्यसमा संलग्न छैन,’ इमेलमा भनिएको छ, ‘त्यस किसिमका कुनै गतिविधिका जिम्मेवारी लिँदैनौं ।’

हेझाउ साङ्चेङ इलेक्ट्रिक पावर कम्पनीले पठाएको ‘इमेल’ प्राप्त भए पनि आधिकारिकता पुष्टि भइनसकेको सापकोटाले जनाए । ‘जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) सँग जुन इमेलमार्फत हाम्रो कुरा हुन्थ्यो तर यहाँ जियाङ्सीले प्रयोग गरेको प्रमाणपत्र दिने संस्थाले इमेल गरेको छ, त्यसलाई आधिकारिक मान्ने कि नमान्ने ?,’ उनले भने, ‘इमेलको आधिकारिकता पुष्टि भएको छैन ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank

जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्काको विषयमा सिनो हाइड्रोले गरेको उजुरीमा अख्तियार अनुसन्धान दुरुपयोग आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान गरिरहेका छन् । सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले दायर गरेको रिटमाथि जेठ २१ मा पेसी तोकिएको र अख्तियार अनि सीआईबीले समेत अनुसन्धान गरिरहेकाले त्यसबाट निष्कर्ष आउने भन्दै प्रक्रिया अघि बढाइएको सापकोटा बताउँछन् । रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनीले वैशाख ९ मा जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी र सिनो हाइड्रो कर्पोरेसन योग्य रहेको भन्दै आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको थियो । २०८१ वैशाख २४ मा खोलेको आर्थिक प्रस्तावबाट सबैभन्दा कम मूल्य कबोल गरेपछि ठेक्का जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभीले पाउने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका