महासंघ आन्दोलन जारी
नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन जारी राखेको छ । बुधवार पनि महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण उपकरण सहित धर्ना दिएको छ । त्यसैगरी महासंघले संघिय संसद भवन अगाडी पनि निर्माण सामगी सहित धर्ना दिदै निर्माण कार्यको भुक्तानी गर्न सरकार संग माग राखेको छ । निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन व्यवसायीहरूको रहर नभई बाध्यता भएको दावी गदै माग पूरा नभए सबै निर्माण कार्यहरू ठप्प पार्ने चेतावनी दिए ।
विकास आयोजना ठप्प
नेपाल उद्योग वाणिज्य महासंघले निर्माण ब्यवसायीको आन्दोलन प्रति सरकार गम्भीर नभएको भन्दै ध्यानाकर्षण गराएको छ । महासंघले बुधवार बिज्ञप्ती जारी गर्दै मुलुकको विकास निर्माण कार्यमा पूँजीगत खर्च हुन नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको उल्लेख गरेको छ । गत आर्थिक बर्षमा विकास आयोजनाहरुको प्रगति निराशाजनक रहेको र विकास आयोजना लक्ष्य अनुसार पुरा नहुदाँ अर्थतन्त्र प्रभावित भएको महासंघले जनाएको छ । निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्रमा मन्दी आएको महासंघले उल्लेख गरेको छ ।
एलिका ब्राण्डको शोरुम उदघाटन
चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्ड सप काठमाडौँको टेकुमा सञ्चालनमा ल्याइएको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेसका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सि। जी। इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस। सि। साबुको उपस्थितिमा शोरुम उद्घाटन गरिएको हो । एलिका ब्रान्ड सपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायतका विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु रहेका छन् । स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित शोरुम संचालन गरिएको छ ।
शेयर बजार कति बढ्यो ?
शेयर बजार परिसूचक बुधवार नौ दशमलव २५ अंकले बढेर दुई हजार ८६ दशमलव ८४ विन्दुमा पुगेको छ । बुधवार जलविद्युत्, व्यापार र लघुवित्त बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको हो । सबैभन्दा धेरै आरबीबी म्युचल फन्ड–१ र स्टान्डर्ड चार्टड बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । दुई सय ६९ वटा कम्पनीका ९३ लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड २४ रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
विद्युतीय सवारीलाई शतप्रतिशत विद्युत
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्नसक्ने बताएका छन् । विद्युतीय सार्वजनिक तथा निजी सवारी साधनमा वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट विद्युत आयात गरेर भएपनि प्राधिकरणले १०० प्रतिशत विद्युत ग्यारेन्टी गर्ने प्रतिवद्धता उनले जनाएका हुन् । कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधन बढ्दै जाँदा विद्युत अभाव हुन्छ भन्ने चिन्ता आम मानिसलाई लागेपनि विद्युत अभाव नहुने दावी गरे ।