फोर आइज न्युज
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सव

प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सव

प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सव

नवलपुरको कावासोतीमा सञ्चालित दुइदिने ‘प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सव’ आज सम्पन्न भएको छ । उत्सवमा करिब १० हजारले अवलोकन गरेका छन् । उत्सवमा नेपालसहित भारत, बङ्गलादेश र जर्मनीका कलाकार सहभागी थिए । अमरापुरीस्थित नारायणी नदी किनारमा रहेको रेड हाउस जङ्गल रिसोर्टमा विगत चार दिनदेखि बसेर उनीहरुले चितवन राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र यहाँका रहनसहनका विषयमा कोरेका चित्र (आर्ट) लाई प्रदर्शनीमा राखेका थिए ।
ती चित्रकारहरुले प्रकृति प्रेममा आधारित चित्र बढी कोरिएको कलावटी आर्ट काउन्सिलका अध्यक्ष भीमप्रसाद शर्माले बताउनुभयो । नारायणी नदी किनारमा बसोबास गर्ने बासिन्दाको जीवनशैली पनि चित्रमा उतारिएको थियो । चराको बास स्थान पारिस्थितिक प्रणालीका बारेमा चित्रले स्पष्ट सन्देश दिन सकेको मध्यबिन्दु प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष जीवन सापकोटाले बताउनुभयो ।
यसरी बनाइएका चित्र मध्यबिन्दु बहुमुखी क्याम्पसमा प्रदर्शनीका लागि राखिएको छ । यो उत्सवले विश्वमा नवलपुर चिनाउन सफल भएको ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले बताउनुभयो ।
‘रमौँ रमाऔँ प्रकृतिभित्र सजाऔँ घरघरमा एक÷एक चित्र’ भन्ने नाराका साथ भएको यो उत्सव आर्टको क्षेत्रमा फलदायी भएको विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उत्सवमा प्रज्ञा–प्रतिष्ठानका चित्रकला विभाग प्रमुख रमेश श्रेष्ठ, मूर्तिकला विभागका प्रमुख धनु याख्खा, हस्तकला विभागका प्रमुख सुष्मा राजभण्डारी, भारतका विजय विश्वाल, बङ्गलादेश ढाका विश्वविद्यालयका प्रोफेसर कमलउद्दिन, बङ्गलदेशकै शिल्पकार एकेडेमीका उपनिर्देशक प्रद्युतकुमार दास, महोमद अलोप र जर्मनीका पिटर होगर लगायत सहभागी हुनुहुन्थ्यो ।
चित्रकारले बनाएका १६५ चित्र प्रदर्शनीमा राखिएका थिए । भाषा फरक भए पनि चित्रका माध्यमबाट संस्कृति बाँड्न सकिएको मध्यबिन्दु प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष सापकोटाले बताउनुभयो । यो प्रदर्शनीको संयोजन कलावटी आर्ट काउन्सिल गैँडाकोटले गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका