फोर आइज न्युज
आइतवार, जेष्ठ २६, २०८२
  • होमपेज
  • १० महिनामा साढे ८८ हजारले त्यागे बिमा

१० महिनामा साढे ८८ हजारले त्यागे बिमा

  • Arjun Rai
  • आइतवार, जेष्ठ २६, २०८२
१० महिनामा साढे ८८ हजारले त्यागे बिमा

Highlights

  • आर्थिक गतिविधि चलायमान बन्न नसक्दा नागरिकको आम्दानी घटेको र त्यसको असर बिमा क्षेत्रमा पनि परेको दाबी

काठमाडौँ — चालु आर्थिक वर्षको १० महिनामा करिब साढे ८८ हजारले बीचैमा बिमालेख छाडेका छन् । अर्थतन्त्र चलायमान बन्न नसकेपछि आर्थिक गतिविधि खुम्चिएकाले नागरिकको आयआर्जन घटेको छ । त्यसको असरका कारण गएको १० महिनामा करिब साढे ८८ हजारले बीचैमा बिमालेख त्यागेको जानकार बताउँछन् ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ८८ हजार ६ सय ३५ जनाले बीचैमा बिमालेख त्यागेको बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणले जनाएको छ । बीचैमा बिमालेख छाड्दा उनीहरूले १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बुझेका छन् । आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म ८९ लाख ७७ जनाले बिमालेख छाडेका थिए । ती बिमालेखबाट बिमितले १० अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बुझेका थिए । गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बिमा त्यग्ने संख्या ०.५० प्रतिशतले घटे पनि त्यसबापत फिर्ता लाने रकम ११.७० प्रतिशतले बढेको प्राधिकरणले बताएको छ ।

चालु आर्थिक वर्षको १० महिनासम्ममा १२ लाख ५४ हजार ४ सय ७८ वटा बिमालेख नवीकरण भएका छैनन् अर्थात् व्यतित भएका छन् । ती बिमालेखबापतको रकम ३६ अर्ब ४६ करोड रुपैयाँ छ । जब कि गत आर्थिक वर्षको १० महिनासम्म ११ लाख २३ हजार ७ सय ४२ बिमालेख व्यतित भएका छन् भने ती बिमालेखको रकम ३० अर्ब ९८ करोड रुपैयाँ थियो ।

अर्थतन्त्रमा देखिएको शिथिलताको असर बिमा क्षेत्रमा पनि परेकाले बीचैमा बिमा छाड्ने र नवीकरण नहुने प्रवृत्ति देखिएको नेपाल जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेलले जनाए । ‘खासगरी अर्थतन्त्रमा शिथिलता देखिएसँगै बिमा सरेन्डर (बीचैमा छाड्ने) गर्ने र ल्याप्सेस (नवीकरण नगर्ने) हुने क्रम धेरै बढेको थियो,’ उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष सरेन्डर गर्ने संख्या थोरै घटेको हो ।’ अर्थतन्त्र चलायमान नबन्दा उद्योग, व्यवसाय र रोजगारी प्रभावित भयो । यसले नागरिकको आयआर्जनमा कमी आएकाले त्यसको असर अरू क्षेत्रमा जस्तै बिमामा पनि परेको पौडेलले बताए । पछिल्ला महिनामा बिमालेख बीचमै छाड्ने र नवीकरण नगर्ने संख्या घट्दै गएको उनले बताए ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा जीवन र लघुजीवन बिमा कम्पनीबाट ५६ लाख ४६ हजार ९ सय ९ वटा बिमालेख जारी भएका छन् । सो अवधिमा निर्जीवन र लघुनिर्जीवन बिमा कम्पनीबाट २६ लाख ६६ हजार ८ सय ८६ वटा बिमालेख जारी भएको प्राधिकरणको तथ्यांक छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको १० महिनासम्ममा जारी जीवन बिमालेख संख्या १.८६ र निर्जीवन बिमालेख संख्या ७.५९ प्रतिशतले बढेको हो । समग्रमा यस आर्थिक वर्षको वैशाखसम्ममा १ करोड ५३ लाख ६ हजार ९ सय ९३ वटा कुल सक्रिय जीवन बिमालेख छ । गत वर्षको सोही अवधिको तुलनामा यो ९.६८ प्रतिशतले बढेको प्राधिकरणको मासिक प्रतिवेदनले देखाएको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

गत वर्षको वैशाखसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल बिमा शुल्क १४.३ प्रतिशतले बढेको छ । गत वर्षको वैशाखसम्म १ खर्ब ५४ अर्ब ५३ करोड बिमा शुल्क संकलन भएकोमा यस वर्षको सोही अवधिमा यो १ खर्ब ७६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसअनुसार जीवन तथा लघुजीवन बिमाको बिमा शुल्क १५.५५ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब ३५ करोड पुगेको छ । सोही अवधिमा निर्जीवन तथा लघुनिर्जीवन बिमाको बिमा शुल्क ८.४६ प्रतिशतले बढेर ३५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जीवन बिमा दाबी भुक्तानी संख्या १२.०७ र दाबी भुक्तानी रकम ३.३८ प्रतिशतले घटेको छ । ‘चालु आर्थिक वर्षको वैशाखसम्म जीवन बिमा कम्पनीहरूले भुक्तानी गरेको दाबी संख्या २ लाख १८ हजार ९ सय ५१ रहेको र जसअन्तर्गत ४८ अर्ब ९५ करोड भुक्तानी भएको छ,’ प्राधिकरणले भनेको छ, ‘गत वर्षको वैशाखसम्मको तुलनामा दाबी भुक्तानी संख्या र रकममा केही कमी आएको देखिन्छ ।’

प्रादेशिक रूपमा हेर्दा गत वैशाखसम्म बागमती प्रदेशले सबैभन्दा बढी बिमा शुल्क संकलन गरेको छ । यस्तो शुल्क कर्णाली प्रदेशको सबैभन्दा कम छ । बिमा शुल्कका आधारमा बागमतीपछि धेरै बिमा शुल्क संकलन गर्ने प्रदेश क्रमशः लुम्बिनी, कोशी, गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश छन् ।

कुल जारी बिमालेखको संख्या बागमती प्रदेशमा धेरै रहेकाले बिमा शुल्क संकलन पनि सोही प्रदेशमा धेरै रहेको जानकार बताउँछन् । गत वैशाखसम्म जारी कुल बिमालेखमध्ये ६६.१७ प्रतिशत बागमती प्रदेशमा मात्र छ । यसले अझै पनि बिमा सेवा विकेन्द्रित हुन नसकेको पुष्टि हुने जानकारको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका