Highlights
काठमाडौँ — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनी नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनी आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ ।
‘समितिमा प्राप्त जगदुल्ला हाइड्रोपावर निर्माणका लागि आशयपत्र माग तथा छनोटमा भएको अनियमितता सम्बन्धमा आशयपत्र प्रस्तुत गर्ने/प्रस्ताव गर्ने निर्माण कम्पनीले नक्कली वा धोकाधडीयुक्त कागजात–प्रमाण पेस गरेको भन्ने विषय सार्वजनिक कानुनको परिपालना तथा पूर्वाधार निर्माणका दृष्टिले गम्भीर देखिएकाले यस प्रक्रियालाई अविलम्ब रोक्न तथा उक्त कागजातको विषयमा शीघ्र यकिन तथा छानबिन गरी निष्कर्षमा पुग्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र जगदुल्ला हाइड्रोपावर कम्पनी समेतलाई निर्देश गर्दछ,’ समितिको निर्णयमा उल्लेख छ । राष्ट्रिय महत्त्वको आयोजनामा अनियमितता भएको भन्दै डोल्पाका लाप्पा शेर्पाले उजुरी दिएका थिए ।
सरकारले नै डोल्पामा बनाउन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्काको विषयमा सिनो हाइड्रोले गरेको उजुरीमा अख्तियार अनुसन्धान दुरुपयोग आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान गरिरहेका छन् । सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले दायर गरेको रिटमाथि जेठ २१ को पेसी सरेर असार १० मा तोकिएको छ । यसअघि नै सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।
अधिवक्ता सन्तोष आचार्यसहितको समूहले जेठ २२ मा जगदुल्ला हाइड्रोपावरको ठेक्काविरुद्ध जगदुल्ला हाइड्रोपावर कम्पनी, एएनके कन्स्ट्रक्सन कम्पनी, जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन, ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयाई विपक्षी बनाएर रिट दायर गरेका छन् । उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।
जेठ १३ मा जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले सिभिल र हाइड्रो मेकानिकलअन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी) तर्फ आह्वान गरेको ठेक्काको आशयपत्र जारी गरेको छ । आर्थिक प्रस्तावमा कररहित १२ अर्ब १५ करोड रुपैयाँ कबोल गरेको जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी योग्य रहेको भन्दै कम्पनीले आशयपत्र जारी गरेको हो ।
चित्त नबुझेको खण्डमा आशयपत्रमाथि सिनो हाइड्रो कर्पोरेसनले १५ दिनभित्र सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दिन सक्नेछ । आशयपत्रमाथि कुनै उजुरी आएन भने जियाङ्सी र एएनके जेभीसँग ठेक्का सम्झौता गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । चीनको हेझाउ साङ्चेङ इलेक्ट्रिक पावर कम्पनीले साङ्चेङ जलविद्युत् आयोजना सकिएको पुष्टि गर्ने कुनै पनि प्रमाणपत्र जारी नगरेको र जियाङ्सी कन्स्ट्रक्सनले आफ्नो कम्पनीको नाम अनधिकृत प्रयोग गरेको भन्दै यही जेठ ७ मा ‘इमेल’ मार्फत जगदुल्ला कम्पनीलाई जानकारी गराएको छ ।
९० मेगावाटको साङ्चेङ जलविद्युत् आयोजना बनाउने भनिए पनि आर्थिक कारणले रद्द भएको र निर्माण नभएको इमेलमा उल्लेख छ ।
‘साङ्चेङ इलेक्ट्रिक पावर कम्पनी’ वा ‘साङ्चेङ जलविद्युत् स्टेसन’ को नाम वा झूटो दाबी गरी सम्झौता गर्ने वा फन्ड लिने काम गरिन्छ भने हाम्रो कम्पनी त्यसमा संलग्न छैन,’ इमेलमा भनिएको छ, ‘त्यस किसिमका कुनै गतिविधिका जिम्मेवारी लिँदैनौं ।’
जगदुल्ला हाइड्रोपावर कम्पनीले वैशाख ९ मा जियाङ्सी र एएनके जेभी र सिनो हाइड्रो योग्य रहेको भन्दै आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको थियो । २०८१ वैशाख २४ मा खोलेको आर्थिक प्रस्तावबाट सबैभन्दा कम मूल्य कबोल गरेपछि ठेक्का जियाङ्सी र एएनके जेभीले पाउने भएका छन् । कम्पनीले गत माघ ६ मा पुनः आयोजनाको ठेक्का प्रक्रिया आह्वान गरेको थियो । सिनो हाइड्रो, सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभी, जियाङ्सी र एएनके जेभी, फेवा कन्स्ट्रक्सन र टूएमजी इनसाट मेडिनक्लाक जेभीले आवेदन दिएका थिए ।
जगदुल्ला कम्पनीले गत जेठ २० मा सिभिल र हाइड्रो मेकानिकलतर्फको ठेक्का आह्वान गरेको थियो । उक्त ठेक्काका लागि हाई हिमालयन हाइड्रो र एजीई कम्पनीे जेभी, शर्मा र झोङदिङ इन्टरनेसनल जेभी, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन जेभी, रामेछाप शेर्पा कन्स्ट्रक्स र सोमा इन्टरप्राइजेज जेभी, सिनो हाइड्रो, ओम इन्फ्रा र फेवा कन्स्ट्रक्सन जेभी गरी सात कम्पनीले आवेदन दिएका थिए । तर प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि गत पुस २२ मा ठेक्का रद्द गरिएको जगदुल्ला कम्पनीको दाबी थियो ।