Highlights
काठमाडौँ — विभिन्न समयमा तस्करबाट जफत गरिएका तथा बेवारिसे फेला परेका २ लाख ११ हजार ५४ केजी रक्तचन्दन अलपत्र अवस्थामा छन् । वन अधिकारीका अनुसार अनुमानित बजार मूल्य प्रतिकेजी करिब १५ हजार ४ सय १० रुपैयाँका हिसाबले करिब ३ अर्ब २५ करोड २३ लाख ४२ हजार १ सय ४० पर्ने रक्तचन्दनका ती काठ वन तथा भू–संरक्षण विभागका देशभरका विभिन्न शाखा अलपत्र छन् ।
दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार (साइटिस) महासन्धिअनुसार ओसारपसार र बेचबिखनमा प्रतिबन्धित रक्तचन्दन बरामद भएमा सम्बन्धित मुलुकलाई नै फिर्ता गर्नुपर्ने हुन्छ । बरामद रक्तचन्दनमध्ये अदालती प्रक्रियाबाट अन्तिम किनारा लागिसकेका करिब १ लाख ६८ हजार ५ सय ७२ केजी रक्तचन्दन भारत नै पठाउने पहल विभागले अघि बढाएको छ । यसअघि विभिन्न समयमा गरी ३६ हजार ९ सय २८ किलो रक्तचन्दनको काठ भारतलाई बुझाइएको छ ।
विभिन्न मितिमा बरामद गरिएका मध्ये कुल १९ हजार ३ सय २४ केजी काठ भने हराएको विभागको दाबी छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार करिब ६ सय ५५ केजी काठ अन्तिम संस्कारका लागि पनि प्रयोग गरिएका छन् । तीमध्ये काठमाडौंमा ६ सय १९ केजी काठ अन्तिम संस्कारका लागि प्रयोग गरिएको छ भने नवलपरासीमा ११ केजी र सिन्धुपाल्चोकमा २४ केजी प्रयोग गरिएको छ ।
विभागका अनुसार हाल मुद्दा कारबाहीमा रहेको रक्तचन्दनको परिमाण १६ हजार ४ सय ८७ केजी, अदालतबाट फैसला भइसकेको १ लाख ८९ हजार ३ सय ७६ केजी, अदालती प्रक्रियामा रहेको २ लाख ५ हजार ८ सय ६३ केजी, बेवारिसे अवस्थामा रहेको ६२ हजार ९७ केजी छ भने अदालती प्रक्रियामा तथा बेवारिसे रक्तचन्दको परिमाण २ लाख ६७ हजार ९ सय ६१ केजी छ ।
चितवन, सर्लाही, दोलखा, झापा, नवलपारसी, ताप्लेजुङ, कपिलवस्तु, धादिङ, तेह्रथुम, रसुवा, रूपन्देही, बझाङ, काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुपाल्चोक, ललितपुर, काठमाडौं, गोरखा, संखुवासभा, सप्तरीलगायत जिल्लामा यसको कारोबार बढी हुने गरेको देखिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकअनुसार नेपालमा पछिल्लो ५ वर्षमा ११ सय ६ किलो रक्तचन्दन बरामद भएको छ, जसको मूल्य १ करोड ७० लाख ४४ हजार २ सय ४८ रुपैयाँ पर्छ ।
प्रहरीका अनुसार २०७७ मा ३ लाख ३८ हजार ९५१ रुपैयाँ बराबरको २२.६६ केजी रक्तचन्दन ललितपुरबाट बरामद भएको
थियो । २०७८ र २०७९ मा भने रक्तचन्दन तस्करी प्रहरीले फेला पारेको थिएन । २०८० मा मात्र १ करोड ६ लाख ३ हजार रुपैयाँ बराबरको ६५३.१५ केजी रक्तचन्दन बरामद भएको थियो ।
गत वर्ष २०८१ मा ६६ लाख ३९ हजार ९८६ रुपैयाँ बराबरको ४ सय ३१ किलो रक्तचन्दन बरामद भएको छ । रक्तचन्दन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले २०७७ मा ४ जनालाई व्यक्ति पक्राउ गरेकोमा २०८० मा ८ जना पक्राउ परेका थिए । २०८१ मा २ जना पक्राउ परे । गत वर्ष १ माघमा पेप्सीकोलाबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ४ क्विन्टल ३१ केजी रक्तचन्दन बरामद गरेको थियो । अन्दाजी बजार मूल्य ६६ लाख ३९ हजार, ९८६ रुपैयाँ पर्ने उक्त रक्तचन्दन एकै पटक बरामद भएको थियो ।
प्रहरी प्रवक्ता रमेश थापाका अनुसार रक्तचन्दनको मूल्य महँगो हुने भएकाले छिटो पैसा कमाउने प्रलोभनमा यसको तस्करी हुने गरेको हो । ‘मुख्यतः नेपालको खुल्ला सिमानाका कारण सजिलै बिभिन्न राजमार्ग हुँदै रक्तचन्दन भारतबाट तस्कर गरी चीन लगिने गरेको देखिन्छ,’ उनी भन्छन् ।
वन तथा संरक्षण विभागकी अधिकृत सबनम पाठकका अनुसार तस्कर गरिएको रक्तचन्दन जुन देशबाट आयो त्यही देशमा फिर्ता पठाउनुपर्ने नियम छ । भारतबाट तस्करी गरेर नेपाल ल्याइएका ठूलो परिमाणका काठको मुद्दा किनारा लागिसकेको अवस्थामा भारतलाई फिर्ता पठाउन स्वीकृत दिँदा पनि लगेको छैन ।
‘क्याबिनेट बैठकले स्वीकृति दिएपछि निर्णय भएको मितिबाट ९० दिनभित्र रक्तचन्दन लैजान मिल्छ तर भारतले ३ पटक म्याद कटिसक्यो, लगेको छैन,’ उनी भन्छिन् । खासगरी, रक्तचन्दन विश्वका महँगा काठमध्ये एक मानिन्छ । भारतका राज्यहरू आन्ध्रप्रदेश, तमिलनाडु, कर्नाटक र तेलंगामा रक्तचन्दन उल्लेख्य मात्रामा पाइन्छ ।