काठमाडौँ — १५ दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी सभापतिलाई राजीनामा बुझाउने बेला सायदै सोचेकी थिइन्, उनले दिएको राजीनामाको खबर बिहीबार बसेको केन्द्रीय समितिको बैठक अगावै बाहिर आउँछ भन्ने ।
तर उनले राजीनामा दिएको खबर बाहिरिएलगतै सुमनाले यो घटना सुनियोजित तरिकाले बाहिर ल्याइएको र यसमा कसैले मिडिया ट्रायल नै गरिएको बुझाइ बनाएकी छिन् । उनले दिएको राजीनामाको पृष्ठभूमि र त्यसपछिका उनका योजनाबारे कान्तिपुरले गरेको संक्षिप्त कुराकानी :
तपाईंको राजीनामाको प्रक्रिया कसरी अगाडि बढ्छ त ?
खै । आजको केन्द्रीय समिति बैठकले पास गर्छ होला भन्ने लागेको थियो । तर त्यस्तो भएन । छलफलमा मात्रै आयो । मलाई केही सोधिएको छैन । बिहानै को मान्छेले यो खबर बाहिर ल्यायो ? त्यो थाह पाउन पाए रमाइलो हुन्थ्यो ।
तपाईंको राजीनामा किन आएको हो ?
मैले राजीनामाबारे सार्वजनिक चासो बढेपछि पार्टीको भाईबर ग्रुपमा पनि राखिदिएको छु । सबैले पढुन् भनेर । त्यसमा मेरा धारणा स्पष्ट छन् । यसअघिको पार्टीको राष्ट्रिय भेलामा पार्टीको भावी नेतृत्व र सिस्टम हस्तान्तरणको विषयमा मैले धारणा पनि राखेको थिए । त्यति बेला नै मैले भनेको थिएँ, आउ भन्ने तर ठाउँ नछोड्ने परिपाटी हुँदैन । त्यो सिलसिलामा नै मैले यो विषयमा विचारहरु राखेका थिए । रविजी पक्राउ परेपछि त्यो गलत समय बन्न पुग्यो र यसबारे केही गरिएन् । पछि रविजी फर्केपछि यो विषयमा एउटा मुभमेन्ट नै ल्याउनुपर्यो भनेर मैले बैठक अध्यक्षता गर्नुअघि भनेको थिए । यसमा महाधिवेशन गर्दै जाँदा पार्टीभित्रबाट क्षमतवान व्यक्तिहरुलाई अघि ल्याउनुपर्यो र दोस्रो आफूलाई जे कुरामा चित्त बुझेको छैन, आफूले पनि त्यही कुरा गर्दै हिँडेर त भएन नि ! त्यो त पुरानै दलका नेताको जस्तो भयो नि त भनेर पनि ।
पुरानो नेतृत्व बदलिनुपर्छ, नयाँ नेतृत्व आउनुपर्छ भन्ने तपाईंको सैद्धान्तिक अवधारणा भयो ?
एउटा त्यो भयो । म मन्त्री हुँदा पनि म सहमहामन्त्री थिए । त्यतिबेला मैले सह महामन्त्रीको कामबारे केही सोच्दा पनि सोचिनँ । मन्त्रीको भूमिका मात्रै निर्वाह गरे । त्यतिबेला सहमहामन्त्रीले गर्नुपर्ने काम अरु कसैले पनि त गरेन नि ! भनेपछि यो मैले अनुभवबाट पनि सोचेर यो निर्णय गर्नुपर्ने बेला आयो भन्नेमा पुगेको हो । एउटा मान्छेले धेरै पद लिएर केही हुन्न र केही गर्न सकिन्न भन्ने अनुभवबाट नि मैले यो निर्णय लिएको हुँ ।
तर पार्टी सभापति थुनामा परेको वा पार्टी अप्ठ्यारो समयबाट गुज्रिरहेका बेला तपाईंको राजीनामा आउँदा त्यसलाई तपाईंले भनेजसरी मात्रै सोचिएला त ? यसले पार्टीभित्र थप ध्रुविकरण गर्दैन र ?
हो । यो त मैले शुक्रबार पार्टी सभापति पक्राउ पर्नुभन्दा अघि नै दिएको हो । उहाँ पक्राउ पर्नुअघि कुराकानी हुँदा आइतबार यो पत्रमा स्विकृती पत्र राख्ने भन्नुभएको थियो । पक्राउ परेपछि मैले कार्यवहाक सभापति डीपी अर्याललाई यो विषय होल्ड गरौं । दिस ईज द ब्याड टाईमिङ भनेर विशेष अनुरोध गरेको थिए । तर यो विषय कसरी बाहिर आयो । मैले त फोन गरी गरी यो कुरा बाहिर ल्याएको होइन् । जसले यो कुरा बाहिर ल्याउनुभयो, यो सबैका निम्ति गलत समय हो ।
अब के हुन्छ त प्रक्रिया ?
राजीनामा दियो भनेर केन्द्रीय समिति बैठकमा आज छलफल भयो । कार्यवहाक सभापतिले हामी बसेर कुराकानी गर्छौं । त्यसपछि निर्णयमा पुग्छौं भन्नुभएको छ ।
राजीनामा स्वीकृत भए के हुन्छ, नभए के हुन्छ ?
राजीनामा अस्वीकृत हुन्छ जस्तो त मलाई लाग्दैन । तर मैले धेरै कुरा देखेको छु । स्वीकृत भएको दिनदेखि मेरा पुरानै तीनवटा प्राथमिकताका विषयमा काम गर्नुछ । संसद्मा पेस गर्न प्राइभेट बिलहरु तयार गरेको छु । अर्को कुरा कानुन निर्माणमा काम गर्ने र तेस्रो भनेको एनआरएनसहित जोडेर एउटा नेटवर्क बनाएर नेपालका निम्ति केही काम गरौं भन्ने छ । यसमा मैले काम नै गर्न पाएको थिइनँ, अब गर्नेछु