फोर आइज न्युज
शनिबार, बैशाख २७, २०८२
  • होमपेज
  • जब चिम्नीबाट सेतो धूवाँ निस्कियो, लियो १४ औं बने पहिलो अमेरिकी पोप

जब चिम्नीबाट सेतो धूवाँ निस्कियो, लियो १४ औं बने पहिलो अमेरिकी पोप

  • Arjun Rai
  • शनिबार, बैशाख २७, २०८२
जब चिम्नीबाट सेतो धूवाँ निस्कियो, लियो १४ औं बने पहिलो अमेरिकी पोप

Highlights

  • विश्वभर छरिएर रहेका इसाई धर्मावलम्बीहरूको आस्थाका केन्द्र पोप अत्यन्तै शक्तिशाली मानिन्छन्, कतिपय अवस्थामा त पोपको सत्ता राजकीय सत्ताभन्दा पनि माथि गणना हुन्छ

काठमाडौँ — बिहीबार साँझ भ्याटिकनको सिस्टिन च्यापलको चिम्नीबाट सेतो धूवाँ निस्कियो । त्योसँगै विश्वभरका क्याथोलिकहरूको व्यग्र प्रतीक्षा सकियो । विश्वभरका करिब साढे १ अर्ब इसाईहरूले नयाँ पोप पाए ।

गत अप्रिल २१ मा पोप फ्रान्सिसको निधन भएसँगै नयाँ पोपको चयनबारे विश्वमै चर्चा चुलिएको थियो । पोप फ्रान्सिसलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि भ्याटिकन सिटीको सेन्ट पिटर्स स्क्वायरमा झन्डै चार लाख अनुयायीहरू भेला भएका थिए ।

उनको अन्तिम संस्कारमा अमेरिकी राष्ट्रपति ट्रम्पदेखि बेलायतका राजकुमार विलियम्सलगायत थुप्रै राष्ट्र प्रमुख र सरकार प्रमुखको सहभागिता रहेको थियो । रोमन क्याथोलिक चर्चको सर्वोच्च पदमा पुग्ने पहिलो ल्याटिन अमेरिकी पोप फ्रान्सिस उक्त पदमा १२ वर्ष कायम रहे ।

विश्वभर छरिएर रहेका इसाई धर्मावलम्बीहरूको आस्थाका केन्द्र पोप अत्यन्तै शक्तिशाली मानिन्छन् । कतिपय अवस्थामा त पोपको सत्ता राजकीय सत्ताभन्दा पनि माथि गणना हुन्छ । पोपको अभिव्यक्तिले विश्वभरका क्याथोलिकहरूका लागि नैतिक दिशानिर्देश सावित हुन्छ ।

त्यसैले पनि पोप फ्रान्सिसपछि उनको पदचापलाई पछ्याउने नयाँ पोपको खोजी विश्वका लागि चर्चाको विषय बन्नु अनौठो होइन । तथापि नयाँ पोपको चयनसँग जोडिएका सांस्कृतिक र धार्मिक मान्यताहरूले भने विश्वलाई नै आकर्षित गर्छ ।

कुनै पनि पोपको निधन भएपछि ९ दिनको शोक समयसँगै नयाँ पोप चयनको प्रक्रिया प्रारम्भ हुन्छ । पोप फ्रान्सिसको अप्रिल २१ मा निधन भएपछि अप्रिल २६ मा उनको अन्त्येष्टि गरिएको थियो । नयाँ पोप चयनको प्रक्रिया अपोस्टोलिक संविधानले तय गरेबमोजिम गर्ने गरिन्छ ।

पोपको निधनपछि भ्याटिकनको जिम्मेवारी पाउने वरिष्ठ कार्डिनल ‘द क्यामेर्लेन्गो’ ले नै त्यसको पुष्टि गर्नुपर्छ । उनले तीन पटक पोपलाई उनका नामबाट बोलाउँछन् र कुनै प्रतिक्रिया प्राप्त नगरेमा निधन भएको घोषणा गर्छन् । त्यससँगै पोपको निजी अपार्टमेन्टलाई सिलबन्द गरिन्छ र भ्याटिकनको प्रशासनिक जिम्मेवारी ‘द क्यामेर्लेन्गो’ को हुन्छ ।

पोपको निधनपछि नयाँ पोपको चयन नहुँदासम्मको समयलाई ‘सेदे भ्याकेन्ते’ भनिन्छ । त्यसपछि भ्याटिकनले नयाँ पोपको चयनका लागि मान्यता प्राप्त कार्डिनल्सहरूको बृहत् सभाको आयोजनामा जुट्छ । ९ दिनकै शोक समयमा कार्डिनलहरूको सभा बसेर नयाँ पोप चयन गर्ने मिति तय गरिन्छ । यस पटक अप्रिल २८ मा बसेको कार्डिनलहरूको सभाले मे ७ मा नयाँ पोप चयन गर्न औपचारिक सभा सुरु गर्ने तय गरेको थियो ।

सेदे भ्याकेन्तेको समयमा ८० वर्ष नकटेका कार्डिनल्सहरू मात्रै नयाँ पोप चयनका लागि हुने चुनावी प्रक्रियामा भाग लिनका लागि योग्य हुन्छन् । यस पटक १३३ जना कार्डिनल्सहरू पोप चयनका लागि योग्य भएका थिए । पोप चयनका लागि कार्डिनल्सहरू सिस्टिन च्यापलमा आफैं उपस्थित हुन अनिवार्य हुन्छ ।

मान्यताअनुसार पोपको निधन भएको वा राजीनामा दिएको १५ देखि २० दिनभित्रमा नयाँ पोपको चयन भइसक्नुपर्छ । चयन प्रक्रिया सुरु भएसँगै मतदान गर्न योग्यबाहेकका सबै व्यक्तिलाई सिस्टिन च्यापलबाट बाहिर जान निर्देशन दिइन्छ । त्यहाँ उपस्थित रहेको कुनै पनि कार्डिनल्सहरूले नयाँ पोप चयन नभएसम्म बाहिरी दुनियाँसँग कुनै प्रकारको सम्पर्क गर्न पाउँदैनन् । त्यसका लागि पनि विशेष व्यवस्था गरिएको हुन्छ ।

नयाँ पोपका लागि मतदान सुरु भएसँगै हरेक कार्डिनल्सले त्यहाँ उपस्थित रहेका आफूले इच्छाएको व्यक्तिको नाम एउटा विशेष प्रकारको कागजमा लेखेर एउटा भाँडोमा राख्छन् । उनीहरूले पोप चयन गर्नका लागि दिनमा धेरैमा चार पटकसम्म मतदान गर्छन् । बिहान दुई पटक र दिउँसो दुई पटक ।

त्यसपछि कार्डिनल्सहरूमध्येबाटै चयन भएका तीन जनाले निर्णय पढेर सुनाउँछन् र त्यसको अभिलेख राखिन्छ । जसले उपस्थित कार्डिनल्सहरूमध्ये दुईतिहाइ मत प्राप्त गर्छ ऊ नै नयाँ पोप चयन गरिन्छ । यस पटक नयाँ पोप निर्वाचित हुनका लागि कम्तीमा ८९ मत आवश्यक रहेको थियो ।

मतदान भएसँगै त्यसमा प्रयोग गरिएको कागजलाई जलाइन्छ । यदि त्यो कागज जलाइएको धूवाँ च्यापलको चिम्नीबाट कालो आएमा सभा सहमतिमा नपुगी सकेको यकिन हुन्छ । च्यापलको चिम्नीबाट सेतो धूवाँ उडेपछि भने नयाँ पोप चयन भएको स्थापित हुन्छ ।

यस पटक मे ७ मा भएको पहिलो चुनावपछि कालो धूवाँ आएको थियो भने मे ८ मा सेतो धूवाँ निस्किएको थियो । त्यसपछि भ्याटिकनको सभाले कार्डिनल रोबर्ट फ्रान्सिस प्रेभोस्टलाई ‘पोप लियो १४’ का रूपमा चयन गरेको घोषणा भयो ।

भ्याटिकनको कौसीबाट कार्डिनल रेनातो मार्टिनोले भने, ‘होबेमुस पपाम’ । अर्थात् हामीले नयाँ पोप पायौं । विश्वभरका १.४ अर्ब क्याथोलिकहरूको नयाँ पोप चुनिएका रोबर्ट फ्रान्सिस प्रेभोस्ट पहिलो अमेरिकी पोप हुन् । भ्याटिकनमा अमेरिकी कार्डिनलहरूबाट पोप चयन नगरिने पुरानो परम्परा थियो । तर पोप लियो १४ औं त्यो पर्खाल भत्काउन सफल भए ।

कार्डिनल रोबर्टले ‘लियो १४ औं’ नाम रोज्नुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । ‘पोप लियो’ नाम अन्तिम पटक १९ औं शताब्दीमा प्रयोग गरिएको थियो । ती पोपले सामाजिक सुधारका निम्ति थुप्रै कामहरू गरेका थिए । उनले औद्योगिक क्रान्तिका बेला श्रमिकहरूको शोषणजस्ता समस्याहरूविरुद्ध आवाज उठाएका थिए । पोप लियो चौधौंबाट पनि क्याथोलिकहरूले प्रगतिशील अभिभावकत्वको अपेक्षा गरेका छन् ।

नयाँ पोपको साक्षात्कार गर्न भ्याटिकन सिटीको च्यापलबाहिर उभिएका करिब ६० हजार बढीको उत्साहित भीडलाई पोप लियोले बाल्कोनीबाट सम्बोधन गरेका थिए । उनको पहिलो वाक्य थियो– ‘यहाँहरू सबैमा शान्तिको बास होस् ।’ उनले थपे– ‘यो शान्तिको शुभकामना तपाईंको हृदयमा पुगोस्, तपाईंको परिवारमा पुगोस्, जहाँ–जहाँ मानिस छन्, सबैमा पुगोस् । सम्पूर्ण विश्वमा फैलियोस् । म यस्तो क्याथोलिक चर्च चाहन्छु जहाँ सधैं शान्ति र प्रेम बनिरहोस् । विशेष गरेर दुःखमा परेकासँग सधैं नजिक रहोस् ।’

६९ वर्षीय पोप लियोले गणितमा स्नातक तहको अध्ययन गरेका छन् । तत्पश्चात् उनले धर्मशास्त्र र क्यानन लको समेत औपचारिक शिक्षा लिए । दशकौंसम्म पेरुमा शिक्षण सेवामा पनि आबद्ध भएका थिए । त्यसो त उनले जीवनमा पुजारी हुनुको अनुभवसमेत लिएका छन् ।

अमेरिकाको सिकागोमा जन्मिएका पोप लियो, दिवंगत पोप फ्रान्सिससँग निकै नजिक थिए । पोप लियोलाई प्रगतिशील सोच भएका व्यक्तिका रूपमा हेरिन्छ । उनका वातावरण र आप्रवासनसम्बन्धी धेरै विचारहरू दिवंगत पोप फ्रान्सिससँग मिल्दाजुल्दा छन् ।

पोप फ्रान्सिसले भने आफ्नो जीवनकाललाई धार्मिक सत्ता र शक्तिभन्दा माथि मानवीय चेतमा समर्पित गरेका थिए । उनले आफूलाई कहिल्यै सर्वसाधारणभन्दा माथि प्रमाणित गर्न खोजेनन् । उनको सादगीपूर्ण व्यवहारकै कारण उनी धार्मिक आस्था भएका सबैको प्रिय बने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका