Highlights
धनगढी — अध्यक्ष केपी शर्मा ओलीको रापतापमा चलिरहेको नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी नेतृत्व लिन अग्रसर देखिएसँगै पार्टीभित्र हलचल सुरु भएको छ । आगामी महाधिवेशनपछि नेतृत्वमा ओलीको निरन्तरता या भण्डारीको आगमन भन्नेमा बहस एमाले केन्द्रमा मात्र होइन, तल्लो तहसम्मै पुग्न थालेको देखिन्छ ।
राष्ट्रपतिका रूपमा भण्डारीको कार्यकाल अन्त्यतिर पुग्दा नै एमालेको नेतृत्व लिने मनसुवाको पेरिफेरीमा भण्डारीले भित्रभित्रै आफ्नो समूह सक्रिय बनाउन थालेको संकेत बहिरिएका छन् । जब उनी ०७९ फागुनमा शीतल निवासबाट बिदाइ भइन्, त्यसपछि भने उनले पार्टी राजनीतिमा फर्कने आकांक्षा र योजनाका स्पष्ट संकेत सार्वजनिक गर्न थालेकी हुन् । एमालेका केही नेताले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने लबिइङ बढाउनु त्यसै योजनाको महत्त्वपूर्ण हिस्सा थियो । पछिल्लो समयमा भण्डारीले आवश्यकता परे ‘तयार रहेको’ स्पष्ट भनाइ नै सार्वजनिक गरिसकेकी छिन् ।
ओली र भण्डारी पक्षधरताका नाममा एमालेमा विभिन्न जिल्ला अधिवेशनका बेला पनि पनि कार्यकर्ता प्रस्टै विभक्त भएका थिए । पूर्वका कतिपय जिल्लामा त स्थानीय तहसम्मै संस्थापन (अध्यक्ष केपी शर्मा ओली) र इतर (भण्डारी समर्थित) धार निर्माण भइसकेका छन् ।
मोरङको जिल्ला अधिवेशनलाई लक्षित गर्दै भण्डारीले एक हप्ता विराटनगरमा बिताइन् । त्यस क्रममा उनले थुप्रै नेतासँग भेटघाट, छलफल पनि गरिन् । परिणामस्वरूप गत फागुन २३ गते मोरङमा सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा भण्डारी पक्षधर अम्बर राई समूहले पदाधिकारीमा ‘क्लिन स्विप’ गरेपछि भण्डारीको अग्रसरताको चर्चा बढ्यो । त्यसअघि उनले गण्डकीलाई आफ्नो राजनीतिक मुकाम भेटघाट गरेकी थिइन् । पछिल्लो समय एकातिर उनी पक्षधर समूह निर्माणको क्रम अन्य प्रदेशमा चलेको छ भने अर्कोतिर उनी आफैंले पनि सक्रिय राजनीतिमा फर्किने स्पष्ट संकेत दिइसकेकी छिन् ।
एमालेमा भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्छ भन्नेमा खुलेर प्रस्तुत भएका एक नेता कर्ण थापा हुन् । हाल स्थायी कमिटी सदस्य रहेका नेता थापा कुनै बेला ओलीका निकै निकटका पात्रका रूपमा चिनिन्थे । जतिबेला ओली सत्ता र शक्तिमा थिएनन् । ओलीको सत्ता र शक्ति यात्राका सुरुका दिनमा पनि सँगै रहेका थापा पछिल्ला एक डेढ वर्षयता ओली वृत्तबाट बाहिर देखिन्छन् । यतिसम्म कि केही समय त ओलीसँग भेटका लागि पनि थापालाई बाटो बन्द भएको अवस्था बन्यो । यिनै थापा डेढ/दुई वर्षयता भण्डारी अध्यक्ष हुनुपर्ने लबिङमा छन् ।
एमालेको छैटौं महाधिवेशनसम्म किनारामा रहेका केपी शर्मा ओली सातौं महाधिवेशनमा आइपुग्दा तत्कालीन माओवादीविरुद्ध कठोर प्रहार गर्ने नीतिको अगुवाइका कारण आफ्नो स्थान बनाउन सफल भएका थिए । त्यसबेला ओली समूह अहिलेजस्तो मजबुत थिएन । तत्कालीन महासचिव माधवकुमार नेपाल समूह एमालेमा सर्वेसर्वा थिए । बहुमत पनि उनकै पछाडि थियो । थापाका अनुसार अहिले ओली समूहका बलिया खम्बाका रूपमा देखिएका धेरैजसो नेताहरू पनि त्यसबेला नेपाल समूहमा थिए । तर त्यसबेला ओलीको पक्षमा खरो उत्रिएर पैरबी गर्ने एमाले नेतामध्ये अग्रस्थानमा भने उनै कर्ण थापा थिए ।
सातौं महाधिवेशनका बेलासम्म जसरी अधिकांश शीर्ष नेता नेपाल पक्षमा हुँदा ओलीको पक्षमा बोल्नेको संख्या नगन्य हुन्थ्यो । सार्वजनिक रूपमा त थापा मात्रै ओलीका पक्षमा बोल्थे । ठीक त्यसैगरी यतिबेला उनै थापा ओलीको विकल्पमा पूर्वराष्ट्रपति भण्डारीले पार्टीको नेतृत्व लिनुपर्ने खुलेआम लबिङ गर्दै मुख खोल्ने पहिलो एमाले नेता मानिन्छन् ।
ओली शक्तिमा पुगिसकेपछि पनि थापा लामै समय उनकै पक्षमा उभिएका थिए । तर ओलीका वरिपरि रहेको घेराले ओलीबाट टाढा गराएपछि भने थापाले पार्टीको आगामी नेतृत्वमा ओलीको विकल्पको लबिङ सुरु गरेका हुन् । लबिङ त छदैछ, थापाको दाबी त अबको नेतृत्वमा भण्डारीको विकल्प नै नभएको भन्नेमा छ । ‘सुरुसुरुमा त मैले बोल्दा एक्लै बोलेजस्तो सुनिन्थ्यो, तर अहिले फरक परिस्थिति बनिसक्यो नि,’ थापाले भने ।
थापाका विचारमा भण्डारी अध्यक्ष हुने केही आधार छन् । पहिलो आधार एमालेको वर्तमान विधानको व्यवस्था हो । उमेर हद र दुई कार्यकालका सन्दर्भको व्यवस्थाले ओलीका लागि फेरि नेतृत्व लिने चाहनालाई साथ दिँदैन । विधानबाट ७० वर्षे उमेरहद कायम रहेको थापाले बताए । ‘७० वर्षे उमेरहद सचिवालयले स्थगन मात्र भनेको हो,’ थापा भन्छन् ‘महाधिवेशनबाट निर्मित व्यवस्था बीचैमा अपव्याख्या गर्ने वा बदल्ने अधिकार कुनै कमिटीलाई छैन । कुनै पनि प्रावधान परिवर्तन गर्नका लागि विधान महाधिवेशन वा राष्ट्रिय महाधिवेशन आवश्यक हुन्छ । त्यसलाई मात्र त्यो अधिकार हुन्छ ।’ नेतृत्वमा नदोहोरिने र पुस्तान्तरण हुनुपर्ने एजेन्डा ओलीकै एजेन्डा भएकाले अहिले त्यो मान्दिन भन्नु स्वयं ओलीका लागि हितकर नहुने थापाको भनाइ छ ।
थापाकै दाबीमा अहिले सबै पार्टीमा चलिरहेको नेतृत्व हस्तान्तरको दबाव र माहोल दोस्रो आधार हो । एमाले पनि नेतृत्व हस्तान्तरणको चर्को मनोवैज्ञानिक दबाबमा छ । ‘त्यस अवस्थामा विद्या नै सबैभन्दा उपयुक्त पात्र हुनुहुन्छ,’ थापाले भने ‘दोस्रो पंक्तिका अन्य नेता त एकले अर्कोलाई कसैले स्वीकार्ने अवस्था नै छैन ।’ बाहिर सार्वजनिक नभइसकेको भए पनि आन्तरिक रूपमा भने पार्टीका शीर्ष नेताहरूको ठूलो पंक्ति त्यसका लागि तयार भइसकेको दाबी थापाको छ ।
थापाले दाबी गरेअनुसार भण्डारी एमालेको नेतृत्वमा आउन सक्ने अर्को आधार भनेको ओलीले नेतृत्व छाड्नुपर्ने अवस्थामा उनका लागि सबैभन्दा सहज र विश्वसनीय पात्र भनेकै भण्डारी हुन् । ओली र विद्याबीच विश्वास र सहकार्यको लामो शृंखला छ । ओलीलाई सर्वाधिक सहयोगी भूमिका उनै विद्याको थियो । ‘ओली बाधक बन्ने अवस्था छँदै छैन,’ थापाले भने । अर्कोतिर विद्यासँग जनताको बहुदलीय जनवादको विरासत पनि छ । मदन भण्डारी पत्नी हुनुका नाताले पनि भण्डारीलाई सहानुभूतिको त्यो सुविधा छ ।
आधार जतिसुकै मजबुत भए पनि भण्डारीले एमाले नेतृत्व लिन अग्रसरता हुने अवस्थामा एउटा खड्को भने मजबुत छ । भण्डारी देशको सर्वोच्च पद राष्ट्रपति भएकी व्यक्ति हुन्, त्यो पनि दुई पटक । पूर्वराष्ट्रपतिजस्तो व्यक्ति फेरि पार्टीको नेतृत्वमा आउँदा आम नागरिकमाझ अलिखित आचारसंहिता र मर्यादा चर्को बहस सिर्जना हुने निश्चित छ । कतिपय एमाले कार्यकर्ता त्यस अवस्थामा राष्ट्रपति पदकै गरिमामाथि आँच पुग्न सक्ने जोखिम उत्पन्न गर्ने जिकिर गर्छन् ।