Highlights
काठमाडौँ — डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेयता ६३ नेपाली नागरिक निष्कासन (डिपोर्ट) मा परेका छन् । अमेरिकी सरकारले उनीहरूलाई चरणबद्ध रूपमा फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएको हो ।
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पर्सिपल्ट २२ जनवरीदेखि अमेरिकाले आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्ने अभियान चलाएको छ । पहिलो दिन नै एक नेपाली निष्कासनमा परेका थिए । २२ जनवरीयता ७ महिला र ५६ पुरुष गरी ६३ नेपालीलाई अमेरिकाले फर्काएको अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमनका अनुसार अमेरिकाबाट ‘डिपोर्ट’ भएर नेपाली आउने क्रम जारी छ ।
अमेरिकाले जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३० र अप्रिल (बिहीबारसम्म) ७ नेपालीलाई ‘डिपोर्ट’ गरेको अध्यागमनको तथ्यांक छ । विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार ‘डिपोर्ट’ भएकामध्ये ८ जना एकैपटक गत २१ फागुनमा चार्टर्ड जहाजबाट र अरू ५५ जना नियमित उडानमार्फत नेपाल आइपुगेका हुन् । ‘डिपोर्ट’ भएकालाई विमानस्थल अध्यागमनले कागज गराएर थप सोधपुछका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउँदै आएको छ ।
विमानस्थल अध्यागमन र नेपाल प्रहरीका अनुसार ‘डिपोर्ट’ मा परेका अधिकांश व्यक्ति ‘मानव तस्कर’ लाई मोटो रकम बुझाएर एसिया, युरोप र अफ्रिकाका विभिन्न मुलुक हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगेर अमेरिका छिरेकाहरू छन् । उनीहरूमा धेरैजसो पश्चिम/पूर्वी रुकुम, रोल्पा, प्यूठान, दाङ, अर्घाखाँचीतिरका छन् । उनीहरू ५० लाखदेखि १ करोड रुपैयाँसम्म दलाललाई बुझाएर अमेरिका पुगेको पाइएको छ ।
मानव तस्करमार्फत अमेरिका पुगेकाहरूले गिरोहको ‘नेटवर्क’ बारे प्रहरीलाई बताउने गरेका छैनन् । ‘उनीहरूमार्फत मानव तस्करीको गिरोहसम्म पुग्न सकिन्छ कि भनेर प्रयास गरिरहेका छौं,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र जीसीले भने, ‘तर उनीहरू खुल्नै चाहँदैनन् । अधिकांशले रुट, खर्च र अमेरिकामा व्यहोरेको सकस मात्रै बताउने गरेका छन् ।’
ट्रम्प प्रशासनले ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासन गर्ने अभियान चलाएको छ । अमेरिकाबाट यसअघि सन् २०२१ देखि २०२४ सम्म १ सय ४० नेपाली निष्कासनमा परेका थिए । अध्यागमन विभागका अनुसार सन् २०२१ मा ३८, २०२२ मा २४, सन् २०२३ मा २५ र सन् २०२४ मा ५३ नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो । आइसले गत २४ नोभेम्बरसम्म ‘डिपोर्ट’ का लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेकालाई धमाधम नियन्त्रणमा लिई ‘डिपोर्ट’ गरिरहेको छ ।
पहिलो चरणमा २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका र अमेरिका छाड्नुपर्ने आदेश पाइसकेका कागजातविहीन ‘डिपोर्ट’ को जोखिममा छन् । ३ हजार ५ सयभन्दा बढी नेपालीले ‘डिपोर्ट’ को आदेश पाइसकेका छन् । तीमध्ये करिब २ हजार नेपाली ‘टेम्पोररी प्रोटेक्ट स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बस्दै आएको अनुमान छ । ‘डिपोर्ट’ मा पर्नेहरूलाई ‘ट्राभल डकुमेन्ट’ बनाइदिएर नेपालसम्म ल्याउन वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको छ ।
आइसले नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने सूचीमा राखेको छ । अमेरिकामा सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, भेनेजुएलाका नागरिक गैरकानुनी रूपमा बसोबास गरिरहेको विवरण सार्वजनिक भएको छ । उनीहरूको बसोबास मुख्य गरी क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, न्युयोर्क, न्युजर्सी, इलिनोईलगायत राज्यमा रहेको पाइएको छ ।
कहिले कति निष्कासित ?