Highlights
काठमाडौँ — राजावादीले १५ चैतमा तीनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका रामचन्द्र बुढाथोकी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा छन् । उनको दाहिने हातमा लागेको गोलीको छर्रा चिकित्सकले अपरेसन गरेर निकालिसकेका छन् तर घाउ पाकेपछि थप उपचार हुँदै छ । मालवाहक बोलेरो गाडी चलाएर परिवारको भरथेग गर्ने रामचन्द्र नै अस्पताल भर्ना भएपछि पत्नी सावित्रा अस्पतालको खर्चसमेत कसरी जुटाउने भन्ने पिरलोमा छिन् ।
नियमित पैसा तिरे मात्र अस्पतालमा औषधि र उपचार पाउने गरेको सावित्राले सुनाइन् । ‘सरकारले निःशुल्क उपचार हुन्छ भनेको त छ रे, बिलअनुसार पैसा फिर्ता हुने रे,’ उनले भनिन्, ‘हामी त दिनभरि कमाएर बेलुका खाने मान्छे । अहिले बिल तिर्ने नै पैसा छैन ।’ श्रीमान्लाई खाना/नास्ताका लागि पनि किराना पसलबाट उधारोमा सामान ल्याउने गरेको उनले बताइन् ।
दोलखा कालिञ्चोक गाउँपालिकाबाट आएर रामचन्द्रले १८ वर्षदेखि काठमाडौंमा गाडी चलाउँदै आएका थिए । १५ चैतमा पनि कमल विनायकसम्म सामान लगेबापत १२ सय रुपैयाँ कमाएर फर्केका थिए । गाडी पार्क गरेर कोठा फर्कने क्रममा आफूलाई गोली लागेको उनको भनाइ छ । ‘प्रहरी र प्रदर्शनकारीको भीडका कारण गाडी अलि भित्र राख्दा सुरक्षित हुन्छ भन्ने लागेर एसओएस स्कुलपछाडि राखें,’ रामचन्द्रले भने, ‘४ बज्न लाग्दै थियो । भाटभटेनीतिर ढुंगामुढा हुँदै थियो ।
रामचन्द्र बुढाथोकी
नजिकै गाडी पनि जलाउँदै थिए । यहाँ बस्नु ठीक छैन जस्तो लागेर कोटेश्वरमै रहेको कोठातर्फ हिँडे । त्यही बेला मलाई गोली लाग्यो ।’ रामचन्द्रलाई कोठा भाडा कसरी तिर्ने, गाडीको किस्ता कसरी बुझाउने अनि छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता छ । उनका तीन छोरी र एक छोरा छन् । ‘मेरो हातले पहिले जसरी काम पनि गर्दैन होला । कति समय गाडी चलाउन नमिल्ने हो ?’ रामचन्द्रले भने, ‘मेरो त परिवारकै बिचल्ली हुने भयो ।’ राज्यले भनेको अहिले पैसा लिए पनि बिरामीको उपचार खर्च पछि फिर्ता हुने व्यवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ । काठमाडौं मेडिकल कलेजमै उपचार खर्च तिर्न नसकेपछि स्याङ्जाका सुमन गुरुङ अस्पतालबाट भागेका थिए । उनलाई १५ चैतकै प्रदर्शनमा देब्रे गाला र देब्रे कानमा रबरको गोलीको छर्रा लागेको थियो । उनी चौथो दिन अस्पतालबाट भागेका थिए ।
०००
जडीबुटी चोकमा विवश र रामहरि (रिदम) श्रेष्ठ दाजुभाइको नमस्कार इन्टरप्राइजेज नामको मोबाइल पसल छ । त्यही पसल बन्द गरेर १५ चैतमा घर फर्कने क्रममा रामहरिलाई प्रहरीको गोली लाग्यो । अहिले उनी बीएन्डबी अस्पतालमा उपचार गराइरहेका छन् ।
रामहरि श्रेष्ठ
रामहरिका अनुसार त्यो दिन जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीभित्र गाडी जलिरहेको थियो । ५/७ गाडी जलेपछि प्रहरी आइपुगे । ‘म पसलको सटर तानेर बरन्डामा बसिरहेको थिएँ । चाबी लगाउन बाँकी नै थियो । अश्रुग्यास हान्दै कोटेश्वरतर्फबाट प्रहरी आए,’ उनले सुनाए, ‘हाम्रा तीन वटा सटरमा ६ वटा चाबी लगाउनुपर्ने थियो । दुई वटा मात्र चाबी लगाउन बाँकी रहँदा प्रहरीले हाम्रै पसलअगाडि भाटा हान्न थाले ।’
आफू प्रदर्शनकारी नभएको बताएपछि प्रहरीले जथाभावी बोल्दै बन्द गरेर गइहाल्नू भन्दै झपारेको रामहरिले बताए । त्यसपछि उनी र उनका दाइले पसलमा चाबी लगाए । सटर छेउको बरन्डामा पानीको बोतल थियो । प्रहरीले पानी मागे । ‘दाइले हिँड् भन्दै हुनुहुन्थ्यो । पानी त दिऊँझैं लाग्यो । मैले पानी दिएँ । पानी पाएको प्रहरीले तैंले बक्सिस पाइस्, यताबाट जा भने,’ रामहरिले भने, ‘हेलमेट लगाएर बाइक झिक्न पार्किङस्थल जाँदा बन्द थियो । त्यहींनेर प्रहरीले हानेको अश्रुग्यासले मेरो आँखा पोल्यो । आँखा मिच्दै पेप्सीकोलातर्फ जाँदै गर्दा मलाई पाखुरामा गोली लाग्यो ।’
अश्रुग्यासले नै भीड तितरबितर भइसकेका बेला प्रहरीले गोली चलाएको उनले बताए । ‘गोली चलाउन आवश्यक नै थिएन । मेरो वरिपरि अरू कोही पनि थिएनन्,’ उनले भने, ‘प्रहरीले पानी मागेपछि मैले पानी दिएँ । पानी नदिई भागेको भए बरु गोली लाग्दैन थियो होला ।’
काभ्रेको पनौती–१ का विवशले १५ वर्षअघि काठमाडौं आएर अर्काको मोबाइल पसलमा काम सुरु गरेका थिए । पछि आफैंले पसल सञ्चालन गरे । बुबाको निधनपछि भाइ रामहरिलाई काठमाडौं ल्याएर पढाएका थिए र पछि पसल सञ्चालनको जिम्मा नै भाइलाई दिएका थिए । विवश भने तेक्वान्दोका गुरु हुन् । काभ्रेको घरमा बस्ने आमालाई भने विवश र रामहरिले सडक दुर्घटनामा परेको भनेर ढाँटेका छन् ।
गोली लागेपछि शारीरिक र मानसिक रूपमा आफू कमजोर भएको रामहरिले बताए । भाइलाई गोली लागेपछि विवशले पसल खोल्न पाएका छैनन् । ‘दाजुभाइको कमाइले काठमाडौंमा नै घर बनाउने योजना बनाएर गत साता मात्र जग हालेका थियौं,’ विवशले भने, ‘खोइ के दशा आइलाग्यो !’ भाइको उपचारका लागि साढे दुई लाख रुपैयाँ अस्पताललाई बुझाएको विवशले सुनाएँ । ‘अस्पतालले उपचार सुरु गर्नुपहिले नै डिपोजिट माग्यो,’ उनले भने, ‘त्यसपछि भने पैसा तिरेको छैन ।’
०००
१५ चैतमै गोली लागेर घाइते भएकी उदयपुरको चौदण्डीगढी–६, बेलटार सातधारेकी रेविका खत्रीको उपचारमा परिवारले ३ लाख रुपैयाँ खर्च गरिसकेको छ । सिभिल अस्पतालको सघन उपचार कक्षमा लामो समय राखिएकी रेविकालाई मंगलबार वार्डको क्याबिनमा सारिएको छ । रेविकासँग पैदल हिँड्दै गर्दा गोली लागेका उनका दाइ दिनेश अस्पतालबाट ५ दिनपछि डिस्चार्ज भएका थिए । सोमबार फलोअपमा अस्पताल जाँदा उनले ड्रेसिङ र थप उपचारका लागि पैसा तिर्नुपर्यो । दाजुबहिनीको उपचारमा सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाएको परिवारजनले बताए । उनीहरूका अनुसार घाइतेले बिलसहित निवेदन दिए अस्पतालले मन्त्रालयमार्फत औषधि र उपचार खर्च ‘रिफन्ड’ गरिदिने भनिएको छ । ‘बिल राखे पैसा त फिर्ता आउँछ भन्ने सुनेका छौं तर अब त खर्च गर्ने पैसा नै साथमा छैन,’ रेविकाकी दिदी अनिताले भनिन्, ‘हामीलाई सहयोग गर्न भनेर संघसंस्था र व्यक्ति आएका थिए तर प्रचारप्रसार गर्ने गरी ब्यानर राखेर सहयोग गर्ने भनेपछि हामीले लिएनौं । राज्यले सहयोग गर्छ भन्ने आशामा छौं ।’ रेविकाको कलेजबाट विद्यार्थीले गरेको सहयोगको रकम भने परिवारले चलाइरहेको छ ।
रेविका खत्री
नरेफाँटस्थित खाद्यान्न पसलमा हिसाबकिताबको काम सकेर फर्कने क्रममा रेविकालाई १५ चैतमा प्रहरीको गोली लागेको थियो । प्रदर्शनका कारण गाडी नचलेपछि रेविका ग्वार्कोस्थित आफ्नो कोठामा नगई ठूलो बुबाको छोरा दिनेशकामा गएकी थिइन् । कोठा पुग्नै लाग्दा साँझ ५ बजेतिर उनीहरूलाई गोली लागेको थियो । अनिताका अनुसार रेविकाको खुट्टाको अपरेसन दुई पटक गर्नुपर्यो । ‘दाहिने खुट्टामा लागेको गोलीले तिघ्राको मासु निकाल्दा मुटुदेखि आएको नसामा पनि असर पारेको रहेछ । नसाले काम नगरेपछि पुनः अपरेसन गरेर देब्रे खुट्टाको नसासँग जोडिएको छ,’ अनिताले सुनाइन् ।
खत्री परिवारको आर्थिक अवस्था सामान्य छ । घर खर्च धान्न मुस्किल भएपछि अनिता र रेविकाका दाइ जापान गएका छन् । ‘दुई वर्षअघि बुबाको फोक्सोमा पानी जमेपछि ७ लाख खर्च गरेर उपचार गरेका थियौं, आमा नियमित औषधि प्रयोग गर्नुहुन्छ,’ अनिताले भनिन् । उनी पढ्दै रेस्टुरेन्टमा काम गर्छिन् । ‘जापान जाने भिसाका लागि आवेदन दिएकी थिएँ,’ अनिताले भनिन्, ‘तर बहिनीको यस्तो अवस्था भएपछि केही सोच्नै सकिरहेकी छैन । भिसा र टिकटका लागि बचत गरेको पैसा बहिनीको उपचारमा खर्च गरें । आफन्तले पनि सहयोग गर्नुभएको छ । भिसा लाग्यो भने टिकट खर्च पनि कहाँबाट ल्याउने भन्ने तनाव छ ।’ रेविकाका बुबा तुलसीराम खत्री चौदण्डीगढी नगरपालिकाका एमालेबाट मनोनीत कार्यपालिका सदस्य हुन् । छोरीलाई गोली लागेको खबर सुनेपछि उनी श्रीमतीसँगै काठमाडौं आएका छन् । ‘केही गर्छु भनेर काठमाडौंमा पढाइसँगै संघर्ष गरिरहेकी मेरी छोरीको जीवन नै बिचल्ली भयो । उसको जीवन के होला ? भविष्य के होला ? मेरी छोरीले पाउने सेवा सुविधा, क्षतिपूर्ति र भविष्यको ग्यारेन्टी राज्यले गरिदियोस्,’ तुलसीरामले भने । उनले गाउँमा सञ्चालन गरेको सानो डेरी उद्योग पनि रेविकालाई गोली लागेपछि बन्द छ । यता रेविकाको तेस्रो वर्षको परीक्षा पनि आउँदै छ । परीक्षा दिन सक्छिन् कि सक्दिनन् भन्ने चिन्ता पनि परिवारमा छ ।
०००
भोजपुरको टेम्केमैयुङ–६, लोखर्क घर भएका २७ वर्षीय डिल्लीप्रसाद लुइँटेल काठमाडौंमा बसको टिकट काउन्टरमा काम गर्दै लोक सेवाको तयारी गरिरहेका थिए । १५ चैतमा राजावादीको प्रदर्शनका कारण बस नचलेर फुर्सदिला बनेपछि उनी साथीहरूसँगै प्रदर्शन हेर्न पुगेका थिए । त्यही बेला पेटमा गोली लागेर उनी घाइते भए । यो खबर सुनेपछि भाइ केदार हतारिँदै काठमाडौं आए । ‘घाइतेको उपचार सरकारले नै गर्छ भन्ने सुनेको थिएँ । म पनि खर्च बन्दोबस्त नगरी आएँ । तर यहाँ अस्पतालबाहिर औषधि किन्नुपर्ने रहेछ, परीक्षण रिपोर्टको पैसा पनि तिर्नु परिरहेको छ,’ उनले भने ।
डिल्लीप्रसाद लुइँटेल
डिल्लीप्रसादको उपचार ट्रमा अस्पतालमा भइरहेको छ । उपचारमा करिब ९० हजार रुपैयाँ खर्च भइसकेको केदारको भनाइ छ । ‘अस्पतालमा त अहिले पैसा तिर्नुपरेको छैन । तर पछि तिर्नुपर्ने हो कि होइन, थाहा छैन । बाहिर औषधि किन्नुपर्यो भने त पैसा छैन । बिहान–बेलुकाको खाना कसरी खाने हो ! काठमाडौंमा नजिकका आफन्त पनि छैनन्,’ केदारले भने, ‘पैसा पनि कोसँग माग्ने ! गाउँको जग्गा पनि भनेको बेला बिक्री हुँदैन ।’ केदारका अनुसार घर खर्च चलाउने जिम्मेवारी डिल्लीप्रसादकै थियो । ‘आमा क्यान्सरले बित्नुभयो, त्यसपछि हाम्रो अभिभावक दाजु नै हो,’ केदारले भने ।
०००
गोली नलागेको भए भोजपुरको रामप्रसाद गाउँपालिका–१ खेनाका शम्भु दर्जी अहिले कतारमा हुन्थे । उनी ५० हजार रुपैयाँ तलब हुने सम्झौता गरेर कतार जान घरबाट बिदावारी भईवरी काठमाडौं आएका थिए । भोलिपल्ट शनिबार परेकाले १५ चैतमा उनी म्यानपावर कम्पनीलाई पैसा बुझाउन सिनामंगल जाँदै थिए । राजावादीको प्रदर्शन भड्किएपछि प्रहरीले गोली चलाउँदा उनलाई पनि लाग्यो । अहिले उनी ट्रमा सेन्टरमा उपचाररत छन् ।
शम्भु दर्जी
शम्भुको कुहिनामा गोली लागेको छ, घाउ सुकेपछि अपरेसन गर्नुपर्ने चिकित्सकले बताएका छन् । ‘अझै कति अस्पताल बस्नुपर्ने हो, थाहा छैन,’ शम्भुले भने, ‘विदेश जाने भनेर ल्याएको पैसा सबै सकियो । अस्पतालको खर्च त तिर्नुपरेको छैन । खाना खर्च र बाहिरबाट ल्याउनुपर्ने औषधिका लागि खर्च जोहो गर्नै मुस्किल भएको छ ।’ शम्भुले ८ वर्षअघि बुबा गुमाएका थिए । त्यसपछि उनले आमाको क्यान्सरको उपचार गर्नुपर्यो । उनको उपचारमा अहिले दिदी बिनाले सहयोग गर्दै आएकी छन् । ‘भाइले विदेशमा कमाएर फिर्ता गर्ला भनेर यसअघि नै २ लाख दिएकी थिएँ, अहिले उसलाई नै उपचारमा कुर्नुपरेको छ,’ बिनाले भनिन्, ‘विदेश जान लिएको र आमाको उपचार खर्च गर्दा लागेको ८ लाख ऋण उसले तिर्नुपर्नेछ ।’
देब्रे खुट्टामा गोलीको छर्रा लागेर घाइते भएकी ४० वर्षीया इन्द्रमाया लिम्बूलाई अस्पतालबाट सोमबार डिस्चार्ज गर्न श्रीमान् गंगाबहादुरले पैसा सापटी खोजेर ल्याएका थिए । गंगाबहादुर बिजुलीको काम गर्छन् । यो दम्पतीलाई महिनाभर काम गरेको पैसाले परिवार चलाउन पनि मुस्किल छ । गंगाबहादुरका अनुसार श्रीमतीको उपचारका लागि सबै गरेर करिब २५ हजार रुपैयाँ खर्च भएको छ । १५ चैतमा थेरापी गराएर फर्किंदै गरेकी श्रीमतीलाई गोली लागेको खबर सुनेपछि गंगाबहादुर काम गर्ने साथीसँग ५ हजार रुपैयाँ सापट मागेर अस्पताल आएका थिए । अरू पैसासमेत सापटी मागेर श्रीमतीलाई सिभिल अस्पतालमा उपचार गराएको उनले सुनाए । लिम्बू दम्पती १ छोरा र २ छोरीसहित बस्दै आएका छन् । तीनकुने र आसपास क्षेत्रमा राजावादी हिंसात्मक गतिविधिमा उत्रिएपछि ‘नियन्त्रण गर्न’ प्रहरीले गोली चलाउँदा जो–जो घाइते भए, तिनीहरूको उपचारमा अस्पताल, प्रशासन र सरकारको समन्वय अभाव हुँदा परिवारजनले दुःख पाइरहेका छन् । मन्त्रिपरिषद्ले १५ चैतमै घाइतेको निःशुल्क उपचार व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । तर कोहीलाई यस विषयमा जानकारी नै छैन भने जानकारी हुनेलाई प्रक्रियाबारे थाहा छैन ।
स्वास्थ्य मन्त्रालयले भने घाइतेहरूको निःशुल्क उपचार भइरहेको दाबी गरेको छ । ‘हामीले सम्बन्धित अस्पतालमा पत्र पठाएका छौं, फोन गरेका छौं । यसको बाँकी सहजीकरण अस्पतालले गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘उपचार गरेर कोही डिस्चार्ज भइसक्नुभएको छ भने पनि हामी बिल र प्रहरीको रिपोर्टसहित आए मन्त्रालयबाट नै भुक्तानी गर्छौं ।’ उनका अनुसार यो दिन, यो समय र यो स्थानमा घाइते भएको भनेर पूरा विवरण बिरामी पक्षले अस्पताललाई बुझाएपछि अस्पतालले प्रमाणीकरण गर्छ र अस्पतालभित्र भएका उपचार र औषधि सबै निःशुल्क हुन्छ । ‘अस्पतालमा औषधि उपलब्ध नभएर बाहिरबाट किन्नुपर्यो भने त्यो बिल रिफन्डका लागि सम्बन्धित अस्पताललाई बुझाउनुपर्छ । अस्पतालले स्वास्थ्य मन्त्रालयलाई पठाउँछ र मन्त्रालय आफैं वा मन्त्रिपरिषद्मा पठाएर भुक्तानी गरिन्छ ।’
डा. बुढाथोकीका अनुसार बिरामीले बाहिरबाट औषधि किन्न सक्ने आर्थिक अवस्था नभए परिवारले सामाजिक सुरक्षा इकाइमा विपन्नको निवेदन दिएर सहयोग लिन सक्छन् । घटना भएको दिन मन्त्रिपरिषद्ले निर्णय गर्नुअघिसम्म बिरामीलाई अप्ठ्यारो परेको भए पनि त्यसपछि समस्या नहुनुपर्ने उनले बताए । ‘त्यस्तो समस्या भए मन्त्रालयको टोल फ्रि नम्बरमा समेत सम्पर्क गरेर सहयोग लिन सकिन्छ,’ उनले भने ।
प्रवक्ता बुढाथोकीका अनुसार राष्ट्रिय ट्रमा सेन्टर २, निजामती (सिभिल) अस्पताल १, बीएन्डबी अस्पताल १ र काठमाडौं मेडिकल कलेजमा १ घाइतेको उपचार अहिले पनि भइरहेको छ । मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा १ सय २९ जना घाइते भएकामा १३ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । कति जनाले के–के उपचार गराए, कति खर्च हुँदै छ भन्ने आधिकारिक विवरण भने मन्त्रालयसँग छैन । तीनकुने घटनामा दुई जनाको ज्यान गएको थियो ।