Highlights
डन्डी, स्कटल्यान्ड — भारतमा सन् १९९६ को विश्वकप क्रिकेट चलिरहेको थियो । न्युजिल्यान्डविरुद्धको क्वाटरफाइनलमा स्टिभ वा सँगै फ्रेन्चकट दाह्रीका साथ स्टुवार्ट ल ब्याटिङमा आएर अस्ट्रेलियालाई सेमिफाइनलमा डोर्याएका थिए । उनै स्टुवार्ट अहिले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक हुन् ।
स्कटल्यान्डमा नेपाली समुदायमा क्रियाशील समाजसेवी काशीराम भण्डारीले बिहीबार आमन्त्रण गरेको नेपाली टोलीको सम्मानमा स्टुवार्ट मुस्कुराउँदै भन्दै थिए, ‘अहिले त त्यस्तो स्टाइल केही बाँकी छैन, दाह्री सफाचट छ ।’
उनकै प्रशिक्षणमा खेलिहरेको नेपालले स्कटल्यान्डमा विश्वकप क्रिकेट लिग–२ को पहिलो दुई खेलमा सनसनीपूर्ण नतिजा निकालेको छ । डन्डीस्थित फोर्थहिलमा नेपालले पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय जित निकालेको थियो भने अर्को खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो । स्कटल्यान्ड र नेदरल्यान्ड्सका लागि यो स्तब्धपूर्ण नतिजा जस्तै रह्यो ।
धेरैले यसलाई नेपाली क्रिकेटमा स्टुवार्ट ल युगको सुरुआत भनेका छन् । नहोस् पनि कसरी । स्कटल्यान्डको यात्रा नेपाली क्रिकेटको सबैभन्दा कठिन मानिएको थियो । कन्डिसन, विकेट र प्रतिद्वन्द्वी हेर्ने हो भने नेपाललाई निकै कठिन हुने अड्कल काटिएको थियो । तर, पहिलो दुई खेल जितेर नेपाल लिग २ को पुछार अर्थात् आठौंबाट सातौं स्थानमा उक्लिसकेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशालाई कायमै राखेको छ ।
‘नेपालले अहिलेसम्मकै सबैभन्दा कठिन शृंखला खेलिरहेको छ, तर त्यसमा अहिलेसम्म राम्रो भइरहेको छ । हाम्रो लक्ष्य उच्च छ, हामी उच्च नतिजासाथ यात्रा टुंग्याउन चाहन्छौं,’ एक महिनाअघि नेपालको मुख्य प्रशिक्षक बनेका स्टुवार्टले भने । उनको प्रशिक्षणमा नेपाली क्रिकेट टोली पुनः ब्युँतिएको छ र पुनः उच्च लयमा फर्किने विश्वासको वातावरण बन्दै गएको छ ।
उनका लागि एसोसिएट क्षेत्रको क्रिकेटमा यसखाले नतिजा निकाल्नु कुनै नौलो होइन । उनकै प्रशिक्षणमा अमेरिका गत वर्ष घरेलु भूमिमा भएको ट्वान्टी–२० विश्वकपमा पाकिस्तान र आयरल्यान्डलाई उछिन्दै समूह चरणबाट सुपर ‘एट’ मा पुगेको थियो । अमेरिकाले पाकिस्तानलाई समूह चरणको खेलमा सुपर ओभरमा पराजित गरेको थियो । स्कटल्यान्डमा नेपाललाई राम्रो खेल्न मैदानमा आएर हौस्याइरहेका दर्शकबाट उनी अझ प्रभावित छन् । गत वर्ष विश्वकपमा नेपालले अमेरिकामा नेदरल्यान्ड्सविरुद्ध डालासमा खेल्दा ८ हजार दर्शकमध्ये ७ हजारभन्दा बढी दर्शक नेपाली देखेका थिए, जुन उनलाई अविश्वसनीय लागेको थियो । उनीसँग इंग्लिस कन्डिसनको पनि अनुभव छ । उनी एक समय इंग्लिस काउन्टी टोली मिडलसेक्सको पनि प्रशिक्षक थिए । नेपालले यस यात्राको लिग २ मा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग १–१ खेल खेल्न बाँकी छ । यी दुई खेल आइतबार र मंगलबार हुनेछ । सन् २०२३ मा नेपालको प्रशिक्षक भएर मोन्टी देसाइ आएपछि नेपालले १२ मध्ये ११ खेल जितेको थियो । स्टुवार्ट पनि यही पथमा लम्किरहेका छन् ।
‘अहिलेसम्म राम्रै भइरहेको छ, २ खेलमा राम्रो नतिजा आएको छ । तर यो यात्रा यहीं सकिएको छैन । अब हामी अर्को दुई खेलको तयारी गरिरहेका छौं, त्यसमा पनि हामी लक्ष्यमा पुग्न सक्छौं र पहिलो दुई खेलकै नतिजालाई दोहोर्याउन सक्छौं,’ उनी भन्छन्, ‘हाम्रो खेलाडीहरूले राम्रो खेलिरहेका छन् । स्कटल्यान्ड र नेदरल्यान्ड्सले पनि नतिजा आफ्नो पक्षमा ल्याउन अवश्य निकै मिहिनेत गर्नेछन् ।’
सन् २००९ मा स्टुवार्ट श्रीलंका राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिए । त्यसपछि उनी २०११–१२ मा बंगलादेशको मुख्य प्रशिक्षक भए । २०१८ देखि उनी वेस्ट इन्डिजको मुख्य प्रशिक्षक थिए । एउटा शृंखलाका लागि उनी २०२२ मा अफगानिस्तानको पनि प्रशिक्षक बनेका थिए ।
स्टुवार्ट ल र मोन्टी देशाइ दबाबमा नआत्तिने लगभग एउटै स्वभावको भएको कप्तान रोहित पौडेल जनाउँछन् । उनले भने, ‘लले डगआउटलाई शान्त राख्नुभएको छ, प्रायः सवै प्रशिक्षकको सायद यही नै मन्त्र हुन्छ होला । नतिजा आउँदा सवैले राम्रो भन्ने गर्छन् । तर डगआउटमा कसरी शान्त राख्ने उहाँको भिजन फरकखाले छ । नतिजा कहिले आउँछ कहिले आउँदैन, तर आफ्नो कर्म कायम राख्न उहाँ प्रेरित गर्नुहुन्छ ।’
स्टुवार्टले वर्तमान टोलीमा रहेका कुनै पनि खेलाडीको शैलीमा कुनै परिवर्तन नगरेको रोहित बताउँछन् । ‘हामीले कसरी क्रिकेट खेल्छौं, त्यहीअनुसार खेल भन्नुहुन्छ । त्यसमा मेरो सहयोग हुनेछ, त्यो गर्छु भनेर भन्नुहुन्छ । उहाँको सामान्य योजना नै त्यही हो, केही पनि जटिल बनाउनुभएको छैन,’ कप्तान रोहितले भने, ‘मेरो ब्याटिङ यो एक सातामा केही परिवर्तन हुदैंन । किनभने म पछिल्लो ७–८ वर्ष देखि यसरी नै खेलिरहेको छु । उहाँले पनि त्यही भन्नु हुन्छ, जसरी खेलिरहेको छ, त्यसै गरि नै खेल भनेर ।’
नेदरल्यान्ड्समाथिको विजयमा मध्यपंक्तिका ब्याटर आरिफले ७८ रन बनाएका थिए । उनी प्रशिक्षकले दिएको भूमिकाअनुसार खेल्दै आएको जनाउँछन् । ‘जुन खेल्ने शैली हाम्रो छ, त्यसलाई उहाँ सहयोग गर्नुहुन्छ । हाम्रो गेम परिवर्तन गर्ने उहाँको केही उद्देश्य छैन,’ आरिफले भने, ‘यसले हामीलाई निकै सहयोग भइरहेको छ । प्रशिक्षकले हामीले प्रोत्साहित गरिरहनुभएको छ, त्यसले हाम्रो टिमको मनोबल पनि उच्च छ ।’